images

पूरा भयो बालेनको बोली : युनेस्कोको ‘फिल्मको रचनात्मक सहर’को सूचीमा काठमाडौं

काठमाडौं । राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले नेपालको राजधानी काठमाडौंलाई ‘फिल्मको रचनात्मक सहर’को रुपमा सूचीकृत गरेको छ ।

विश्व सहर दिवसको अवसरमा काठमाडौंसहितका संसारका ५५ सहरलाई क्रिएटिभ सिटिज नेटवर्कमा समावेश गरिएको युनेस्कोले उल्लेख गरेको छ ।

युनेस्कोले सातवटा रचनात्मक क्षेत्रअन्तर्गत रहेर ५५ नयाँ सहर सूचीकृत गरेको हो । यी रचनात्मक क्षेत्रमा शिल्प र लोककला, डिजाइन, फिल्म, ग्यास्ट्रोनोमी, साहित्य, मिडिया कला र संगीत समावेश छन् ।

संस्कृति र सिर्जनालाई विकास रणनीतिको रुपमा आत्मसात गर्ने र मानव केन्द्रित सहरी योजनामा नवीन अभ्यास प्रदर्शन गर्ने प्रतिबद्धतासहित यी नयाँ सहरलाई सूचीकृत गरिएको युनेस्कोका महानिर्देशक अड्रे अजौलेले बताएका छन् ।

सूचीकृत नयाँ सहरले जलवायु परिवर्तन, बढ्दो असमानता र द्रुत सहरीकरणजस्ता विकसित खतराको सामना गर्न नेटवर्क सदस्यहरूसँग सहकार्य गर्ने समेत युनेस्कोले जनाएको छ । जसमा सन् २०५० सम्म विश्वको ८० प्रतिशत जनसंख्या सहरमा बसोबास गर्ने उल्लेख छ ।

काठमाडौं महानगरका मेयर बालेन शाहले यसअघि काठमाडौंलाई चलचित्रको रचनात्मक सहरको रुपमा विकास गर्ने बताएका थिए । नभन्दै युनेस्कोले समेत काठमाडौंलाई फिल्मको रचनात्मक सहरको सूचीमा समावेश गरेको छ । एजेन्सीको सहयोगमा