images

यस्तो पनि देउसी भैलो : जहाँ हिमाल, पहाड र तराईका सबै संस्कृति झल्काउने नाँच देखाइयो

गलकोट । बागलुङमा तिहारको अवसरमा देउसी भैलोको रौनकता छ । तिहारमा खेलिने देउसी भैलोका गीत गाउँ–गाउँमा गुन्जिरहेका छन् ।

पछिल्लो समय देउसी भैलोमा पश्चिमा संस्कृति भित्रिएसँगै देउसी भैलोको मौलिकता हराउँदै गएको गुनासो बढिरहेको छ । रेकर्ड गरिएका नेपाली पप तथा हिन्दी गीतले देउसी भैलोको मौलिकता र संस्कृति मासिँदै गएको सन्दर्भमा यहाँको एक पुरानो सामुदायिक विद्यालयले सञ्चालन गरेको देउसी भैलो कार्यक्रमले भने नेपालको हिमाल, पहाड र तराईसम्मको संस्कृति झल्काएको छ ।

बागलुङ बजारस्थित विद्यामन्दिर माध्यमिक विद्यालयले नेपालका जातजाति र भाषा संस्कृतिलाई समेटेर भैलो देखाएको छ । विपन्न विद्यार्थीलाई कापी, कलम र खाजाको जोहो गर्नका लागि विद्यार्थी कल्याण कोष स्थापना गर्ने उद्देश्यले सञ्चालन गरिएको देउसी भैलो कार्यक्रममा सबै भाषा, धर्म र संस्कृतिलाई समेटिएका नाचगान प्रस्तुत गरिएको छ ।

देउसी भैलोमा तामाङ सेलो, थारु नाच, नेवारी नाच र साकेला नाचदेखि यानिमाया र सालैजो उनीहरूकै भेशभूषामा सजिएर नृत्य देखाउँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले बताए ।

“कला संस्कृतिको संरक्षण र विपन्न विद्यार्थीका लागि शैक्षिक सामग्री र खाजा खर्च जुटाउन कार्यक्रम आयोजना गरेका हौँ”, उनले भने, “पहाडको तामाङ संस्कृति, तराईको थारु र पहाडको आदिवासी जनजाति र नेवारी संस्कृतिलाई देउसी भैलोमा देखाउन थालिएको छ ।”

विसं १९९७ मा स्थापना गरिएको धवलागिरिकै जेठो विद्यालय विद्यामन्दिरमा अध्ययनरत गरिब, मजदुर तथा श्रमिकका बालबालिकालाई शिक्षा दिन, असहाय बालबालिकाको कल्याणको लागि स्थायी कोष सञ्चालन गर्न र विद्यालयलाई शैक्षिक हब बनाउन देउसी भैलो कार्यक्रम सञ्चालन गरिएको प्रधानाध्यापक छविरमण शर्माले जानकारी दिए । विद्यालयमा हाल एक हजार तीन सय विद्यार्थी अध्ययनरत छन् । रासस