images

भारतलाई घरमै स्तब्ध पार्दै अष्ट्रेलियाले जित्यो छैटौं विश्वकप, यी ४ कारणले हार्यो भारत

काठमाडौं । आयोजक भारतलाई घरेलु मैदानमै स्तब्ध पार्दै अष्ट्रेलियाले छैटौं पटक विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

ट्राविस हेड र मानर्स लाबुसनको उत्कृष्ट पारीको मदतमा अष्ट्रेलियाले भारतलाई ६ विकेटलाई पराजित गर्दै एकदिवसीय विश्वकपको उपाधि जितेको हो ।

अहमदाबादमा भएको फाइनल भिडन्तमा भारतले पुरै ५० ओभर खेलेर १० विकेटको क्षतिमा २४० रन बनाएको थियो । अष्ट्रेलियाले ट्राविस हेडको १३७ रन र मानर्स लाबुसनको अविजित ५८ रनको मदतमा ४३ ओभरमा मात्रै ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

जबकी अष्ट्रेलियाको सुरुवात भने राम्रो थिएन । खेलको दोस्रो ओभरको पहिलो बलमा पहिलो विकेट गुमाएको अष्ट्रेलियाले ४७ रन जोड्दा ३ विकेट गुमाएको थियो ।

दोस्रो ओभरमा डेविड वार्नरलाई ७ रनमा गुमाएको अष्ट्रेलियाले खेलको पाँचौं ओभरमा मिशेल मार्शलाई १५ रन सातौं ओभरमा स्टीभ स्मिथलाई ४ रनमा गुमाएको थियो ।

त्यसपछि दबावमा आएको अष्ट्रेलियाले पहिलो १० ओभरसम्म निकै संघर्ष गर्नु परेको थियो । तर हेडले लाबुसनसँग मिलेर १९२ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार बनाए ।

जितका लागि मात्र २ रन चाहिएको बेला उनी १३७ रन बनाएर आउट भए । म्याक्सबेलले पहिलो बलमै दुई रन लिएपछि अष्ट्रेलिया विजयी भयो ।

भारतको आक्रामक सुरुवात

टस जितेको अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले भारतलाई ब्याटिङको निम्तो दिँदा रोहित शर्माले भने कि उनले टस जितेको भए पनि ब्याटिङ नै रोज्ने थिए । उनले भारतलाई राम्रो सुरुवात पनि दिलाएका थिए ।

तर पाँचौं ओभरको दोस्रो बलमा मिचेल स्टार्कले शुभमन गिललाई एडम जाम्पाको हातबाट क्याच गराए । रोहितको आक्रमण ब्याटिङ रोकिएको थिएन । उनले जोस ह्याजलउडको दुई ओभरमा चार चौका र मिचेल स्र्टाकको बलमा छक्का हानेका थिए । सातौं ओभरमा स्टार्कलाई लगातार तीन चौका हान्दै भारतको स्कोर ५० कटएका थिए ।

दशौं ओभरमा पनि रोहितले ग्लेन म्याक्सवेललाई लगातार छक्का र चौका हानेका थिए । तर लगत्तैको तेस्रो बलमा उनी आउट भए । उनलेे ३१ बलको सामना गरी ४७ रन बनाएर आउट भए ।

भारत सस्तैमा समेटिनुका ३ कारण

अर्को ओभरमा अष्ट्रेलियाका कप्तान कमिन्सले श्रेयस अय्यरलाई आउट गरे । लगातार दुई विकेट गुमाएसँगै भारत दबावमा आएको थियो । विराट कोहली र केएल राहुलले इनिङ उकास्ने प्रयास गरेका थिए ।

२६औं ओभरमा विराटले अर्धशतक पुरा गरे । चौथो विकेटका लागि केएल राहुलसँग ६७ रनको साझेदारी भएको बेला २९औं ओभरमा विराट आउट भए । उनले ५४ रन बनाए ।

त्यसपछि रवीन्द्र जडेजा क्रिजमा आए, तर भारतले थप ३० रन जोड्दा उनी पनि आउट भए ।

यद्यपि अर्को एण्डमा सुस्त गतिमा रन बनाएपनि टिकेर खेलिरहेका राहुलले अर्धशतक पुरा गरेका थिए । तर ४२औं ओभरमा उनी पनि आउट भए । १०७ बलको समना गरेका उनले ६६ रनको महत्वपूर्ण पारी खेलेका थिए । भारत सस्तैमा समेटिनुमा यी मुख्य टर्निङ पोइन्ट बने ।

अष्ट्रेलियाका स्टार्कले ३, कमिन्स र ह्याजलउडले २/२ विकेट लिए भने म्याक्सबेल र एडम जाम्पाको नाममा १/१ विकेट रह्यो ।