काठमाडौं । वि.स. २०७२ सालको भूकम्पपछि सुस्त रहेको चीनसँगको व्यापार चालु आर्थिक वर्षमा भने बढेको छ ।
चालु वर्षको पहिलो चार महिनामा समग्र व्यापार ४ दशमलव १५ प्रतिशतले घटेपनि चीनसँगको व्यापार भने ३५ प्रतिशतले बढेको हो । गत वर्ष पहिलो चार महिनामा २० करोड ४८ लाख रूपैयाँको सामान नेपालबाट चीन निर्यात हुँदा ७४ अर्ब ६० करोड ७३ लाख रूपैयाँको सामान आयात भएको थियो ।
यो वर्ष भने निर्यात चार गुणाले बढेर ८३ करोड ५४ लाख रूपैयाँको पुगेको छ । आयात ३२ प्रतिशतले बढेर एक खर्ब २५ करोड ३६ लाख रूपैयाँको पुगेको छ । मुख्यतः तातोपानी र रसुवा नाकाबाट नेपाल चीनको स्थल मार्गबाट कारोबार हुने गरेको छ। गत वर्षको पहिलो चार महिनामा यी दुबै नाकाबाट एक रूपैयाँको पनि वस्तु निर्यात भएको थिएन । चालु वर्षको पहिलो चार महिनामा ४४ करोड ७० लाख रूपैयाँको वस्तु निर्यात भएको छ । चीनसँग भएको समग्र निर्यातमा स्थल मार्गको योगदान शून्यबाट ५३ प्रतिशत पुगेको छ ।
स्थल मार्गबाट बढेको व्यापारका साथै रसुवा र तातोपानी नाकामा बढेको चहलपहलले व्यवसायी उत्साहित भएका छन् । हाल नेपालबाट कार्पेट, बाँसको मुडा, नेपाली मूर्ति, तामाका तथा माटोका भाँडा लगायतका वस्तु चीन निर्यात भएको छ । चीनले नेपाललाई आठ हजार ९३२ वस्तुमा भन्सार छुट दिए पनि त्यसको लाभ उठाउन भने सकेको छैन ।