images
images

ओली पथ: आध्यात्मिक कि भौतिक ?

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मङ्सिर १४ गतेबाट मध्य पहाडी लोक मार्ग केन्द्रित विशेष अभियानको क्रममा छ। गत शुक्रवार भारतको सिमाना जोडिएको जिल्ला बैतडीको झुला घाटबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झन्डोत्तोलन सहित अभियानको उद्घाटन गरे। बैतडीबाट सुरु भएको अभियानलाई एमालेले चिवा भन्ज्याङ यात्रालाई समृद्धिका लागि सङ्कल्प यात्राको नाम समेत दिएको छ ।

पदयात्राको उद्देश्य स्थानीयसँग थप सम्बन्ध जोड्ने र त्यसको राष्ट्रिय सन्देश दिने छ । सरकारले गरिरहेका कामको बारेमा जनतालाई बुझाउने र आगामी दिनमा एमालेको भूमिका थप शक्तिशाली बनाउने योजना अन्तर्गत एमालेले पदयात्रा गरेको हो । पदयात्रालाई नेकपा एमालेका स्थानीय कार्यकर्ताहरूले उत्साहित रूपमा साथ दिई रहेका छन्। 

मन्दिर ढोग्ने, आशीर्वाद लिने 

आध्यात्मिक कुरामा विश्वास नगर्ने कम्युनिस्टहरू पछिल्लो समय आफूलाई आध्यात्मिक मार्गतर्फ केन्द्रित गरेको देखिन्छ। धर्मलाई अफिमको संज्ञा दिने कम्युनिस्ट पार्टीहरू नेपालका मठमन्दिरमा गएर ढोग गरिरहेका छन्। 

त्यसैको चरित्र एमालेको सङ्कल्प यात्राको क्रममा समेत देखियो। सङ्कल्प यात्राको क्रममा ठुलो तामझाम सहित देखा परेका ओलीले सुदूरपश्चिमका विभिन्न धर्मपिठ र मन्दिरहरूमा ढाेक्दै हिँडिरहेका छन्। मन्दिरमा पितवस्त्रमा देखा परेका ओली लगायतका शीर्ष नेताहरूको धार्मिक रुझान प्रस्ट देख्न सकिन्छ। 

अध्यक्ष ओलीले अभियानका क्रममा बैतडीको दशरथ चन्द नगरपालिकामा पर्ने निङालासइनी (निङ्गलाशैनी) देवीको दर्शन र पूजा गरेर सामाजिक सञ्जाल फेसबुकमा समेत राख्न भ्याए।

पत्नी राधिका सहित ओलीले गत शुक्रवार बैतडीको त्रिपुरा सुन्दरी मन्दिरमा दर्शन गरेर फुल माला लगाए। सोही दिन उनले डडेलधुरामा रहेको उग्रतारा मन्दिरको दर्शन पनि गरे। शनिवार ओलीले डोटी स्थित शैलेश्वरी माताको मन्दिरको दर्शन गरेको फोटो र स्ट्याटस राखे। ओली मात्रै होइन। यात्रामा सहभागी अन्य नेताको फेसबुक भरी मन्दिरको दर्शन र पूजा गरेका फोटाहरू छरपस्ट रूपमा देख्न सकिन्छ।

भलै ओलीले पूर्वीय सभ्यता र संस्कृतिलाई चासो राख्नु स्वाभाविक भए पनि उनले बोकेको दर्शन र सिद्धान्तले त्यस्तो गर्न कत्तिको छुट दिन्छ? भन्ने सवाल उत्पन्न समेत गराएको छ। 

अध्यक्ष ओली, जसले कम्युनिस्ट शिक्षा दीक्षाबाट हुर्किएको वा त्यसको मूलभूत मान्यताप्रति आस्था राख्ने कार्यकर्ताहरूको नेतृत्व गर्छन् । भन्नु पर्दैन, कम्युनिस्ट आदर्शप्रति आस्थावान्को सोचाइ पद्धति भौतिकवादमा आधारित हुने गर्छ। जसले हरेक घटनाको कारण खोज्छ, प्रमाणविहीन तर्क र अन्धविश्वासलाई मान्यता दिँदैन।

देउवा सम्झे,रावललाई बिर्से

मध्य पहाडी राजमार्गको अभियानलाई चासो पूर्वक हेरिरहँदा नेता डा भीम रावललाई भने औपचारिक जानकारी गराइएन। अभियानका क्रममा आफूलाई नबोलाएको भन्दै डा रावलले सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट आफ्नो धारणा प्रस्ट राखे। 

तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेबिच पार्टी एकता भएर बनेको नेकपा हुँदा फरक कित्तामा उभिएका र ओलीको विपक्षमा मत राखेकै कारण ओली र रावलबिचको आन्तरिक द्वन्द्व अझै यथावत् रहेको अभियानमा समेत प्रस्ट देख्न सकिन्छ। 

नेकपा एमाले विभाजितपछि एमाले नै रोजेका रावल एमालेको दसौँ महाधिवेशनमा अध्यक्षमा ओलीसँग प्रतिस्पर्धामै उत्रिए। त्यसपछि ओली र रावलबिचको टसल झनै बढ्दै गयो। 

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा रावल अछाम क्षेत्र नम्बर दुईबाट एकल सिफारिस भए पनि ओलीले उनको नामको टिकट हटाएर झपट रावललाई उम्मेदवार बनाए। तर रावललाई बेवास्ता गरेकै कारण सुदूरपश्चिम प्रदेशमा एमालेले निर्वाचनमा नसोचेको परिणाम खेप्नु पर्‍यो। 

सोही इगोका कारण ओलीले एमालेले सुरु गरेको मध्य पहाडी राजमार्ग अभियानमा रावललाई निषेध नै गरे। नेतृत्वले अभियानमा नबोलाएपछि नेता रावलले असन्तुष्टि जाहेर गरे। 

नेता रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमालेको मध्य पहाडी पुष्पलाल राजमार्ग अभियानबारे धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मेरो बारेमा सोधिएको प्रश्नको जवाफमा मलाई निम्तो दिइएको भन्ने सत्य होइन । तथ्य यस्तो छ: प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले फोनमा पत्र पठाउँ कि भन्नुभयो । मैले भनेँ– अभियान प्रदेशको भए तपाईँले भन्दा म आइहाल्थेँ । तर केन्द्रको भएकोले तपाईँ अध्यक्षलाई फोन गरी मेरो सहभागिताको कुरा गर्नुस्, उहाँले मलाई भन्नुभयो भने म सहभागी हुन्छु । केही समयपछि उहाँले फोनमा भन्नुभयो– फोन गरेँ, अध्यक्षको स्वकीयसँग कुरा हुँदा महासचिवसँग कुरा गर्न भनियो । महासचिवसँग कुरा गर्दा इच्छा हुने जाँदा हुन्छ भन्ने जवाफ आएकोले तपाईँ झुला घाट जानु परेन, अछाम आफ्नै किसिमले गए हुन्छ । अब सबै विवेकशील व्यक्तिले सोचौँ । यही हो त मलाई अभियानमा निम्ता गरिने कायदा?’

एमालेको यात्रामा कार्यकर्ताले भीम रावल खोइ? भनेर प्रश्न समेत गरे। तर ओलीले सत्तारुढ दल नेपाली काँग्रेसका सभापति देउवाकाे गृह जिल्ला पुगेर देउवालाई फोन गरे। उनले देउवासँग गरिएको टेलिफोन संवाद समेत सामाजिक सञ्जालमा राखे। 

उक्त सन्देश पोस्ट भएसँगै नेता रावलका समर्थकले भीम रावललाई किन फोन नगरेको? भन्दै सामाजिक सञ्जालमा समेत प्रश्न गरे। ओलीले रावललाई बेवास्ता गरेको भन्दै रावलका समर्थकहरूले अछाममा ओलीलाई आउनका लागि तयार पारेका गेटहरू समेत भत्काए। यस विषयमा ओलीले कुनै आधिकारिक धारणा भने राखेका छैनन्। 

काँग्रेस प्रचण्ड पथमा गएको आरोप 

सङ्कल्प यात्राका क्रममा ओलीले काँग्रेस प्रचण्ड पथमा गएको आरोप लगाए।उनले आफ्नै समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाएको विगत बिर्सँदै काँग्रेस र माओवादी गठबन्धन सरकारको विरोध समेत गरे। देउवा निवास डडेलधुरामा पुगेर ओलीले भने,‘ अहिले मोटामोटी रूपमा यो सरकार प्रचण्ड पथमा हिँड्न खोजेको छ । काँग्रेस प्रचण्ड पथको भरिया बनेको छ।’उनले गठबन्धन सरकार स्वार्थमा लिप्त भएको भन्दै त्यसको आयु नभएको समेत बताए। 

अभियानमा बालबालिकाको प्रयोग

आत्मरति र हावै वाह मा रमाउन खोज्ने एमालेको अभियानमा स्कुले बालबालिकाको प्रयोग भएको देखिन्छ। उनी अछाम पुग्दा विद्यालय बन्द गराएर विद्यालयको पोसाकमै पन्चदेवल बिनायक नगरपालिका वडा नं ३ मा अवस्थित विद्यामन्दिर नमुना माध्यमिक विद्यालयका बालबालिकाहरूलाई ओली बा आई लभ यु, जिन्दावादसम्म भन्न लगाइयो। 

बाल अधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले बालबालिकालाई राजनीतिक रूपमा प्रयोग गर्न निषेध गरेको भए पनि त्यसबारे मौन हुँदै ओली भने मक्ख परिरहेँ। 

यस्तो कुरा एमाले मात्रै नभएर सत्तारुढ दल नेकपा माओवादी केन्द्र,नेपाली कांग्रेसले समेत गरेको देखिन्छ। गैर कानुनी रुपमा बालबालिकालाई राजनीतिक कार्यक्रममा सहभागी गराउन बन्द गरिनुपर्छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS