images

काठमाडौं महानगरपालिका सामुदायिक विद्यालयका खेल शिक्षकलाई क्रिकेट कोच विकास प्रशिक्षण

काठमाडौँ । आजदेखि काठमाडौँमा क्रिकेट कोच प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । सामुदायिक विद्यालयको माध्यमिक तहका खेल शिक्षक र प्रतिनिधिहरुलाई प्रशिक्षणमा सहभागी गराइएको छ । काठमाडौँ महानगरपालिकाले बागमती प्रदेश क्रिकेट एशोसिएसनसँग सम्झौता गरेर प्रशिक्षण थालेको हो । यसका लागि गएको भदौ २९ गते सम्झौता भएको थियो ।

शिक्षण शुन्य (०) लेवलको हो । यसमा ५० जना क्रिकेट प्रशिक्षकलाई तालिम दिएर उहाँहरूमार्फत सहरका इच्छुक क्रिकेट खेलाडीलाई खेलका विषयमा ज्ञान दिनु र खेल्ने सिप सिकाउने वातावरण बनाउनु प्रशिक्षणबाट अपेक्षा गरिएको नतिजा हो ।

प्रशिक्षणमा सैद्धान्तिक कक्षासहित पाकिस्तान एम्बेसी पार्कमा प्रयोगात्मक प्रशिक्षण हुनेछ । सैद्धान्तिक कक्षामा प्रशिक्षकको भूमिका, शारीरिक तन्दुरुस्ती, एम्पायर, व्याटिङ्, बलिङ्, विकेट किपिङ्का बारेमा ज्ञान दिइनेछ ।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक अनिल अधिकारी, क्रिकेट प्रशिक्षक (लेभल ३) राजु बस्नेत, लेभल २ का प्रशिक्षकहरु कलाम अलि, मनोज कटुवाल, रिकेश लामा, सुजन महर्जन, एम्पायर बिनय झालगायत प्रशिक्षकले प्रशिक्षण दिने छन ।

प्रशिक्षणसँगै एशोसिएसनले वडाहरूमा क्रिकेट नेट राख्न प्राविधिक सहयोग उपलब्ध गराउनेछ । यो काम ३ महिनाभित्र सम्पन्न हुनेछ । यसका लागि महानगरपालिकाले १० लाख रूपैयाँ उपलब्ध गराउने छ । यसरी उपलब्ध गराइने रकम काम थालनी भएपछि ४० प्रतिशत र बाँकी कार्य प्रगतिका आधारमा दिइनेछ ।

अनुगमन तथा मूल्याङ्कन समिति वा खटाइएका कर्मचारीले सम्पादित कार्यको समय—समयमा अनुगमन तथा मूल्याङ्कन गर्ने व्यवस्था गरिएको छ ।