images

सूर्तीजन्य पदार्थ बेचे र धुम्रपान गरेकाे पाइएमा पसल बन्ददेखि जरिवाना गरिने

काठमाडौं। काठमाडौं महानगरपालिकाले भोलि (विहिबार) देखि काठमाडौं महानगरपालिका भित्र सूर्तीजन्य पदार्थ बिक्रि वितरणमा पूर्ण रुपमा बन्देज लगाउने भएको छ। महानगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गर्दै कच्चा सुर्ती, खैनी, गुट्खासहित सुर्तीजन्य पदार्थ बिक्री र सेवनमा प्रतिबन्ध लगाइएको जानकारी गराएको हो।

महानगरले सबै पसलमा अनुगमन हुने र सुर्तीजन्य पदार्थ पाइएमा दुईपटकसम्म जफत गरिने र तेस्रोपटक पाइए पसल बन्द गरिने चेतावनी दिएको छ ।

साथै महानगरले‍ धूम्रपान पनि निषेध गरेको छ । अबदेखि सार्वजनिक स्थलको एक सय मिटर वरिपरि धूम्रपान बेच्न र सेवन गर्न प्रतिबन्ध लगाइएको छ । सार्वजनिकस्थलमा धूम्रपान गरेमा त्यहाँबाट निकालिने र एक सय रुपैयाँसम्म जरिवाना गरिने महानगरले चेतावनी दिएकाे छ । सार्वजनिकस्थलको एक सय मिटर वरिपरि वितरण गरेको पाइए जफत गरी बन्द गरिने छ ।

यसका लागि काठमाडौं महानगरका चार क्षेत्रमा १० जनाका दरले नगरप्रहरी परिचालन गरिने र केन्द्रमा १० जना निरन्तर अनुगमनका लागि गरी पहिलो चरणमा ५० जना नगरप्रहरी परिचालन हुने र सादा पोसाकमा समेत नगर प्रहरीले अनुगमन गर्ने महानगरले जनाएको छ ।