images

हमासको आक्रमणमा परि ज्यान गुमाएका नेपालीका परिवारलाई सरकारले दियो जनही १० लाख

काठमाडौं। इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका नेपाली नागरिकका परिवारलाई सरकारले जनही १० लाख रूपैयाँ राहत दिएको छ । अर्थ मन्त्रालयका अनुसार २२ असोजको मन्त्रिपरिषद्को निर्णय अनुसार यस घटनामा परी निधन भएका नागरिकका परिवारलाई राहत स्वरुप प्रति परिवार १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराइएको हो ।

यसका लागि मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई रकम निकासा दिएको मन्त्रालयको विवरणमा उल्लेख छ । गत असोजमा प्यालेस्टाइनको हमास लडाकुले इजरायलमा अप्रत्यासित आक्रमण गर्दा १० जना नेपालीको निधन भएको थियो । चालु आर्थिक वर्षमा मन्त्रालयले आर्थिक सहायता वितरणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपचारका लागि समेत ९ लाख ९५ हजार रुपैयाँ निकासा दिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै जम्बो टोली लिएर दुई साता लामो अमेरिका र चीन भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहालले त्यसैका लागि पौने ५ करोड रुपैयाँ खर्च गरेका छन् । अर्थ मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघको ७८ औं महासभा र चीनको औपचारिक भ्रमणका गएका प्रधानमन्त्रीको प्रतिनिधिमण्डलको भ्रमण खर्चबापत ४ करोड ७४ लाख २ हजार रुपैयाँ भुक्तानी भएको छ । यो रकम अर्थले परराष्ट्र मन्त्रालयका नाममा निकासा दिएको हो ।