images

धनुषामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीको कुटाईबाट एक जनाको मृत्यु

जनकपुरधाम । धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ। गएराति सुगानिकास गाउँमा दुई पक्षबीच पारिवारिक विवाद भएको थियो। विवादलाई नियन्त्रणमा लिनका खोज्दा हंसपुर नगरपालिकामा प्रहरी र स्थानीयबीच झडप भएको थियो।

प्रहरीले भीडलाई नियन्त्रणमा लिनका लागि गोली चलाउँदा गोली लागेर ३५ वर्षीया दिपनारायण मण्डल घाइते भएका थिए । प्रहरीले घाइते मण्डललाई पक्राउ गरी प्रहरी हिरासतभित्रै कुटपिट गरेको र प्रहरीकै कुटाईबाट निजको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् ।

आक्रोशित स्थानीयहरुले बिहान प्रहरी चौकी घेराउ गर्दै नाराबाजी गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर र रबरको गोली प्रहार गरेका छन् ।

स्थानीयले प्रहरीको गोली लागेर अर्का एक जना घाइते भएको जनाइएको छ । आक्रोशित भीडले प्रहरीको तीनवटा मोटरसाईकलमा आगजानी गरेको छ । यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवालेले सुगानिकासमा ढुंगामुढा भएको बताए । उनले जिल्लाबाट थप प्रहरी पठाइएको र घटना सम्बन्धमा बुझ्न आफुपनि गइरहेको जानकारी दिए ।