images

सन २०२३मा १० लाख पर्यटक भित्राउने सरकारको लक्ष्य पूरा

काठमाडौं । यो अंग्रेजी वर्ष अर्थात् सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ । कोरोना महामारीले थलिएको पर्यटन व्यवसाय पुनरोत्थानका लागि सरकारले यो वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । सरकारको लक्ष्य बुधवार पूरा भएको हो ।

यस वर्ष बुधवार बिहान ५ बजेसम्ममा नौ लाख ९९ हजार एक सय नौ जना पर्यटक भित्रिएका नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ । दिउँसो ४ बजेसम्ममा थप तीन हजार जनाभन्दा धेरै पर्यटक भित्रिएका अध्यागमन विभागले जनाएको छ । सन् २०२३ सकिन चार दिन बाँकी छँदै सरकारको लक्ष्य पूरा भएको हो ।

कोरोना महामारी शुरु हुनुअघि सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार एक सय ९१ जना विदेशी पाहुना हवाई माध्यमबाट भित्रिएका थिए । तर कोरोना महामारीका कारण सन् २०२० मा नेपालमा विदेशी पर्यटकको सङ्ख्या दुई लाख ३० हजार ८५ जनामात्रै थियो । त्यो सङ्ख्या अझै घटेर सन् २०२१ मा एक लाख ५० हजार नौ सय ६२ जना विदेशी पर्यटक मात्रै नेपाल आए ।

कोभिड–१९ बाट बच्न लगाइएका प्रतिबन्धहरू हटेपछि सन् २०२२ मा छ लाख १४ हजार एक सय ४८ जना पर्यटक नेपाल आएका थिए । यो वर्ष नेपालमा भारत, अमेरिका र चीनबाट आउने पर्यटकको सङ्ख्या उल्लेख्य बढेको छ । पर्यटन बोर्डले अब वार्षिक १२ लाख पर्यटक भित्र्याउने गरी तयारी शुरु गरेको जनाएको छ ।
०००