images

बालकुमारी घटनाबारे प्रधानमन्त्री दाहालले गरे गृहमन्त्री सहित सुरक्षा प्रमुखसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरको बालकुमारीमा हिजो भएको घटनाबारे उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा प्रमुखहरुसँग छलफल गरेका छन ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतसँग घटनाबारे जानकारी लिएका हुन ।

प्रधानमन्त्रीले घटनाको छिटो र निष्पक्ष छानबिन गर्न निर्देशनसमेत दिनुभएको छ । यो घटनाको सत्यतथ्य छानबिन गर्न गृहमन्त्रालयले हिजो नै नेपाल प्रहरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिसकेको छ ।

गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । कोरिया जानका लागि भाषा परीक्षामा सहभागी हुन माग राखेर युवाहरुले हिजो प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनका क्रममा दुई जना युवाको ज्यान गएको थियो । साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो ।