images

अवैध सम्पति शुद्धीकरणको आरोपमा जयसवालाई ८ वर्ष कैद र ८३ करोड जरिवाना

काठमाडौं । अबैध सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालतले प्रमोद कुमार जयसवाललाई ८ वर्ष कैद र ८३ करोड रुपैंया जरिवाना हुने फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले जयसवाललाई सोमबार कसुर निर्धारण गरेको हो । विशेष अदालतले उनलाई गत ४ पुसमा दोषी ठहर गरेको थियो । जयसवाललाई ४१ करोड ५१ लाख रुपैंया विगो र त्यसको दोब्बरले हुन आउने रकम ८३ करोड ३ लाख जरिवाना सुनाएको, प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । त्यही घटनामा मुछिएका पप्पु ठाकुरलाई पाँच वर्ष कैद सजाय तोकिएको छ ।

पप्पुलाई ३ करोड ६७ लाख विगो र दोब्बर ७ करोड ३४ लाख रुपैंया जरिवाना हुने फैसला भएको छ । आलु र प्याज खरिद गरेको नक्कली कारोवार देखाई सम्पत्ति शुद्धीकरण गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २ बैशाख २०७७ मा दुई बाणिज्य बैंकका कर्मचारी सहित ५ जना विरुद्ध मुद्दा दायर गरेको थियो । उनीहरुमाथि ४१ करोठ ५१ लाख रुपैंया सम्पत्ति शुद्धीकरण गरेको अभियोग थियो । विभागले नेपाल एसबीआई बैंक पर्सा रामपुर शाखाकी तत्कालिन शाखा प्रवन्धक विभा चौधरी, त्यही बैंकको विरगञ्ज शाखाका प्रमुख जीवनबाबु सुवेदी लगायत ५ जनामाथि सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको थियो ।

उनीहरुको साथै भारतीय नागरिक प्रमोदकुमार जयसवाल, पप्पु ठाकुर र श्रीलाल रौनियारविरुद्ध पनि मुद्दा दायर गरेको थियो । अनुन्धानका दायरामा परेका १० जना बैंकका कर्मचारीलाई विभागिय कारवाही गरिएको थियो । विशेष अदालतले जयसवाल र ठाकुर बाहेक सबैलाई सफाई दिएको छ ।