images

भारतीय विदेशमन्त्रीले भेटे राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्

विदेशमन्त्री जयशंकरले बिहीबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल-भारतबीच कनेक्टिभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्‌को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिए।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेले राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा अजेन्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेको जानकारी दिए। उनले कृषि, ऊर्जा शक्ति, पर्यटनको विकास र मानव संसाधन विकास नेपालको प्राथमिकतामा भएकाले यसमा सहकार्यका लागि विदेशमन्त्री जयशंकरसँग आग्रह गरे।

भेटका अवसरमा भारतीय विदेशमन्त्री जयशंकरले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको उल्लेख गर्दै सबै क्षेत्रमा निरन्तर सहयोग रहने बताएका थिए।

त्यस्तै, भारतीय विदेशमन्त्री जयशंकरले आजै प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा दुई देशको आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।