images

राष्ट्रिय सभामा एमालेलाई भागबन्डा दिने विषयले गठबन्धनभित्र खटपट

काठमाडौं । राष्ट्रियसभामा एमालेलाई सिट दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावले सत्ता गठबन्धनमा खटपट शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायलाई टुंग्याउन संसदमा विचाराधीन टीआरसी विधेयक पास गर्नकै लागि भए पनि एमालेलाई राष्ट्रियसभामा सिट दिनुपर्ने शर्त अघि सारेपछि सत्तारुढ नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी झस्किएका छन् ।

एमालेले टीआरसी विधेयक पास गर्न राष्ट्रियसभामा ६ सिट मागेको प्रधानमन्त्रीले ब्रिफिङ गरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त बैठकमै विमति राखेका थिए ।
प्रधानमन्त्रीको नयाँ प्रस्तावमाथि छलफल गर्न कांग्रेस र एकीकृत समाजवादीले पार्टीको बैठक नै बोलाएका छन् । अध्यक्ष नेपालले आज एक बजे र कांग्रेस सभापति शेरबहादुर देउवाले शनिवार कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

अहिले राष्ट्रियसभा सदस्य निर्वाचनमा एमालेलाई भाग दिने रणनीति बनाएका प्रधानमन्त्री प्रचण्डले यसकै कारण सत्ता गठबन्धनमा आँच आउन नदिने वचन दिएका छन् । यसअघि प्रतिपक्षी दललाई लेखा समितिको सभापतिमात्र दिने परम्परा रहे पनि संसद चलाउन र विधेयकलाई अघि बढाउन सजिलो पार्न एमालेलाई लेखासहित ३ संसदीय समितिको सभापति दिएको उल्लेख गर्दै प्रचण्डले चुनावअघि र चुनावपछिको परिस्थितिको मूल्यांकन गर्न पनि गठबन्धनलाई सुझाएका छन् ।