images

काठमाडौंमा यो वर्षकै सबैभन्दा चिसो, न्यूनतम तापक्रम ३.५ डिग्री मापन


काठमाडौं –काठमाडौंमा अत्यन्तै चिसो बढेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री सेल्सियसमा झरेको छ ।

शुक्रबार बिहान पौने ६ बजे काठमडौंको न्यूनतम तापक्रम तीन दशमलव सात डिग्री मापन गरिएको छ । उक्त तापक्रम पौने ९ बजे मापन गर्दा घटेर तीन दशमलव पाँच डिग्रीमा पुगेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार यो तापक्रम यो वर्षको जाडो सिजनको अहिलेसम्मकै सबैभन्दा कम हो । हिजो काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रममा पाँच डिग्री सेल्सियस थियो । देशका उच्च पहाडी भेगमा केही दिनदेखि हिमपात भैरहेकाले चिसो अझै बढ्ने सम्भावना छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव समेत परेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरि कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति कोशी र मधेस प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।