images

सर्लाहीको बरहथवामा झडप,प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाडाै– सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

शुक्रबार बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो ।

झडपमा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको हो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाका एकजना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गरे । मृत्यु हुने बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साह रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी धमलाका अनुसार झडपको क्रममा ६ जना प्रहरी र दुईजना स्थानीय घाइते भएका छन् । आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा भएपछि अश्रुग्यास हान्नुका साथै हवाई फायर गरेको जनाइएको छ ।