images

आफूलाई ‘लिटल बुद्ध’ बताउने बम्जनको घरबाट ३ करोड भन्दा बढी नगद बरामद

काठमाडौं- हत्या र यौनहिंसा र वेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले बम्जनलाई पक्राउ गरेको थियो ।

बम्जनको घरमा खानतलासी गर्दा ३ करोड ३ लाख नेपाली रुपैयाँ र ३० लाख ९२ हजार रुपैयाँबराबरको १६ देशका विदेशी मुद्रा बरामद गरेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए । त्यसबाहेक १५ वटा मोबाइल, ल्यापटप र ३० भन्दा बढी पेन ड्राइभ पनि बरामद भएको छ । ब्युरोको टोली मंगलबार उक्त घरमा पुग्दा उनले भाग्ने प्रयास गरेका थिए ।

सीआईबीले केही बेरमा पत्रकार सम्मेलन गरी बम्जनलाई सार्वजनिक गर्दैछ । आफूलाई ‘लिटल बुद्ध’ बताउने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोपमा प्रहरीले खोजिरहेको थियो । बम्जनविरुद्ध पाँच परिवारको उजुरी छ । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।