images

बम्जनको विलासी जीवन, ३ करोड ३४ लाख बढी नगद बरामद, नयाँ कार खरिदका लागि समेत तीन करोड भुक्तानी

काठमाडौं–आफूलाई लिलिट गौतम बुद्ध भन्ने तपस्वी राम बहादुर बम्जनको जीवन विलासी रुपमा वेतित गर्दै आएको बुझिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सिआइबी)ले बम्जनलाई पक्राउ गरि आज सार्वजनिक गरेको छ ।

हत्या र यौनहिंसाका आरोपित बम्जनको घरबाट सीआईबीले ३ करोड ३४ लाख ३७ हजार ९ सय ६ रुपैयाँ बरामद गरेको छ । जसमध्ये २ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँबराबरका १७ देशका विदेशी मुद्रा रहेको सीआईबीका सूचना अधिकारी एसपी नवराज अधिकारीले जानकारी दिए ।

आफूलाई तपस्वी बताउँदै आएका बम्जन विलासी जीवन बिताउँदै आएको पनि प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । उनले प्रदेश-३-०१ ०२४ च ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयोटा फर्चुनर प्रयोग गर्दै आएका थिए ।

त्यस्तै उनले ल्यान्डक्रुजर-जेडएक्स किन्नका लागि ३ करोड रुपैयाँ सोरुमलाई बुझाइसकेको पनि सीआईबीले जनाएको छ । उनको प्रयोगका लागि धुम्बाराहीमा रहेको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्राइभेट लिमिटेडमा सेतो रङको ल्यान्डक्रुजर किन्नका लागि ५ करोडमा बुकिङ गरिएको थियो ।

उक्त गाडी ललितपुर महानगरपालिका वडा नं २२ बुङमतीका ४५ वर्षीय पनित महर्जनको नाममा किन्न खोजिएको थियो । महर्जन बौद्ध श्रवन धर्म संघ ललितपुरका अध्यक्ष हुन् । त्यस्तै बम्जनले क्रसफायर, केटीएम ड्युक मोटरसाइकल र यामाहा रे जेडआर स्कुटरसमेत प्रयोग गर्ने गरेको खुलेको छ ।

सीआईबीले बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराउने तयारी गरेको छ ।