images

आलमविरुद्ध मुद्धा कुनै न्यायाधीशले हेर्ने हिम्मत नगरेपछि स्थगितको सूचीमा

काठमाडौं–रौतहटमा बम विस्फोट गरी सामूहिक नरसंहार मच्चाएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दा स्थगितको सूचीमा परेको छ ।

पूर्वमन्त्री समेत रहेका आलमविरुद्धको मुद्दा फाँट नम्बर ५ मा परेको थियो । उक्त मुद्धाको गोला कुनै पनि न्यायाधीशले नतानेपछि मुद्दा स्थगितको सूचीमा परेको हो ।

रौतहट जिल्ला अदालतमा पुष २९ गते आइतबार अन्तिम सुनुवाइका लागि पेसी तोकिएको भएपनि गोला नतानिएपछि स्थगितमा परेको हो । ७ न्यायाधीशको दरबन्दी रहेको रौतहट जिल्ला अदालतमा आइतबार दुई न्यायाधीश मात्रै उपस्थित भएका थिए । न्यायाधीश अभावमा उक्त मुद्दाको पेसी स्थगितमा परेको हो ।

यसअघि गत कात्तिक २२ गते न्यायाधीश बाबुकाजी बानियाँको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो।

अदालतको आदेश बमोजिम मंसिर २४ वादी र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाए पनि सुनुवाइको पेसी तोकिएको थिएन।

२०६४ सालको संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको थियो। उक्त घटनामा प्रहरीले २०७६ सालमा पुन: अनुसन्धान गरेपछि आलमविरुद्ध अदालतमा मुद्दा पुगेको थियो।

आलमले २०६४ सालको संविधान सभा निर्वाचनको नतिजालाई आफ्नो पक्षमा पार्न बम विस्फोट गराउने योजना बनाएको र त्यसका लागि बम बनाउँदै गर्दा विस्फोट भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। बम विस्फोटको घटना सार्वजनिक हुने भयका कारण आलमले उक्त विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाएर मारेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

उक्त मुद्दामा २९ कात्तिक २०७६ मा थुनछेक आदेश सुनाउँदै रौतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो। पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको आदेशविरुद्ध आलमले उच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए। उच्च अदालत वीरगन्जले २०७६ माघ २४ गते जिल्लाको आदेश नै सदर गरेको थियो।

आफूलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतले पनि सदर गरेपछि आलम सर्वोच्च पुगेका थिए। सर्वोच्चले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको थियो। सर्वोच्च अदालतले गत वैशाख २३ गते धरौटीमा रिहा हुनुपर्ने माग अस्वीकार गरेपछि अन्तिम सुनुवाइको बाटो खुलेको थियो।