images

देवघाटमा माघे संक्रान्ति मेलाको तयारी पूरा

चितवन-तनहुँ र नवलपुरमा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलाको तयारी पूरा भएको छ । हरेक वर्षको माघेसङ्क्रान्तिको अवसरमा आयोजना गरिने मेलाको तयारी पूरा भएको छ।

माघेसङ्क्रान्तिका दिन देवघाटमा स्नान गर्न सम्पूर्ण देवी देवताहरु आउने हुनाले पनि भक्तजनहरुले अदृश्यरुपमा देवी देवतालाई भेटेर मोक्ष प्राप्त गर्न सक्छन् भन्ने जनविश्वास रहेको छ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाटमा माघेसङ्क्रान्तिका अवसरमा नेपालका विभिन्न जिल्लासहित विदेशी भक्तजनहरु पनि आउने बताए ।

मेलामा भक्तजनको सङ्ख्या विगतको तुलनामा बढ्ने अनुमान गरिएको बरालले बताए । बरालका अनुसार यस वर्षको साउन महिनाको सोमबार, सद्विज छर्ने दिन र अन्य विशेष दिनमा भक्तजन बढी आएकाले माघेसङ्क्रान्तिमा पनि भक्तजन बढ्ने अनुमान गरिएको हो ।

गत वर्ष माघेसङ्क्रान्ति मेला भर्न तीन लाख हाराहारी भक्तजन देवघाट आएको अनुमान गरिएको थियो । गोसाईँकुण्ठबाट आएकी त्रिशूली र दामोदर कुण्डबाट आएकी कालीगण्डकी नदीको मिलन एवं नारायणी नदीको मुहानको रुपमा रहेको दवघाटधामको बेणी सङ्गम भएकाले पनि माघेसङ्क्रान्तिमा देवघाटको विशेष महत्व रहेको बरालको भनाइ छ ।

त्रिशूली र कालीगण्डकी नदीको वेणी सङ्गममा मेला हुने भएकाले तीनवटा जिल्लासँग समन्वय गरेर तयारी गरिरहेको छ । विगतका वर्षहरुमा जस्तै भक्तजनका लागि यसवर्ष पनि बोट (डुङ्गा) को व्यवस्था मिलाइएको छ ।