images

मेलम्ची खानेपानीमा राजनीति,नवौं पटक शुभारम्भ !

काठमाडौ–मेलम्ची खानेपानी आयोजना सुभारम्भदेखि वितरणसम्म आइपुग्दा राजनीतिक रुपमा प्रत्यक्ष या अप्रत्यक्ष रुपमा हस्तक्षेप भइरहेको प्रष्ट देखिन्छ । वि.सं २०४८ सालको निर्वाचनको चुनावी घोषणामा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले काठमाडौँमा मेलम्चीको पानी ल्याउने उद्घोष गरेका थिए । त्यस यताको निर्वाचनमा मेलम्ची खानेपानी सबै दलको साझा एजेण्डा बन्ने गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री भट्टराईको घोषणा गरेको करिव ३० वर्ष लामोसमय पछि काठमाडौंबासीले मेलम्ची खानेपानी देख्न पाए । उक्त खानेपानी काठमाडौं झरेको केही समयमै बन्द भयो । खानेपानी के कति र कसका कारणले बन्द भयो भन्ने कुराको रहस्य नियाल्ने हो भने त्यसमा राजनीतिक देखि खानेपानीका ट्याँकर व्यवसायीहरुको प्रत्यक्ष संग्लनता रहेको देखिन्छ ।
विश्व बैंकदेखि एसियाली विकास बैंकसम्मकाे सहयोग

मेलम्ची खानेपानी आयोजना राष्ट्रिय गौरवको परियोजना हो । यो परियोजनाले काठमाडौँ उपत्यकामा दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्ने लक्ष्य लिएको छ । यसको लागि परियोजनाले सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाको मेलम्चीमा रहेको मेलम्ची यांग्री र लार्के नदिलाई डाइभार्ट गर्दै परियोजना अघि बढाइएको हो । यो आयोजनालाई एसियाली विकास बैङ्कले आर्थिक सहयोग प्रदान गरेको छ ।

मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन ठेकेदार कम्पनी सिएमसीले पाएको थियो । सिएमसीले काम छाडेर हिंडेपछी सरकारले धरौटी रकम रु ३ अर्ब जफत गरेको थियो ।
यस्ताे छ मेलम्ची खानेपानीकाे इहितास
तत्कालिन प्रधामन्त्री कृष्णप्रसाद भट्टराईको घोषणासँगै वि.स. २०५२ – मेलम्ची खानेपानि लिमिटेड को स्थापना गरिएको थियो । उक्त कार्यका लागि वैदेशीक सहायता अन्तर्गत एसियाली विकास बैंकले ऋण प्रदान गरेको थियो ।

वि.स. २०५५ – आयोजनाको सुरूवात भएको भएपनि २०५८/०५९ भौतिक निर्माण कार्यको शुभारम्भ गरिएको थियो ।
आधिकारिक रुपमा सुभारम्भ भएको उक्त आयोजानको २५ वर्ष पछि वि.स. २०७७ फागुन २२ गते मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्वागत गरिएको थियो ।

वि.स.२०७७ चैत्र २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी वितरणको शुभारम्भ गरेकी थिइन् । भृकुटीमण्डपमा बनाइएको ढुंगेधारामा पानी खसालेर भण्डारीले काठमाडौं उपत्यकामा औपचारिक रु पमा खानेपानी वितरणको सरुवात गरेकी थिइन ।


उद्घाटनको लहर, अहिलेसम्म क-कसले गरे उद्घाटन?
मेलम्ची खानेपानी आयोजनाको पहिलो उद्घाटन तत्कालीन खानेपानी मन्त्री बिना मगरले गरेकी थिइन् । मगरले २०७७ असार २१ गते उद्घाटन गर्दै पानी पठाउन सुरू गरेकी थिइन् । त्यस बेला राम्ररी सुरूङ परीक्षण नगरी पानी पथान्तरण गर्दा अम्बाथानस्थित अडिट टनेल भत्किएर दुई जनाको मृत्यु भएको थियो ।

तत्कालीन खानेपानी मन्त्री मणिचन्द्र थापा र सहरी विकास राज्य मन्त्री रामवीर मानन्धरले २०७८ फागुनको पहिलो साता मेलम्चीको हेडवक्र्स अम्बाथानमा पुगेर फेरि दोस्रो पटक पानी पथान्तरण गरेका थिए।

– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २२ गते मेलम्ची खानेपानी आयोजनाको सुरुङको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा विद्युतीय बटन थिचेर पानी हाल्ने कामको उद्घाटन गरेका थिए।

– तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ चैत २० गते काठमाडौंको भृकृटीमण्डपमा निर्माण गरिएको ढुंगेधारा खोलेर मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन गरेकी थिइन्।

–तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरीले २०७९ चैत १९ मा मेलम्चीको मुहानमा पुगेर डाइभर्सन सुरुङमा पानी भर्ने कार्यको शुभारम्भ गरेका थिए।

–तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले २०७९ वैशाख ११ गते काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलको मीनभवनस्थित पानी ट्याङ्कीमा पुगेर खानेपानीको भल्भ खोली मेलम्ची खानेपानी आयोजनाको पुनः वितरण कार्यक्रमको उद्घाटन गरेका छन्।

– तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले २०७९ मंसिर २३ गते पनि मेलम्चीको पानीको शुभारम्भ गरेका थिए।

कति भयाे त लागत ?

अम्बाथानदेखि काठमाडौंको सुन्दरीजलसम्म २६.९ किलोमिटर लामो सुरूङ निर्माण गरिएको छ। त्यसका लागि झन्डै ३२ अर्ब रूपैयाँ खर्च भएको छ। त्यसमा एसियाली विकास बैंकको २० अर्बभन्दा बढी ऋण र नेपाल सरकारको १२ अर्ब रूपैयाँ खर्च भइसकेको छ।