images

रुस-युक्रेन युद्धमा लमजुङका एक युवकको मृत्यु

काठमाडौं–रुसी युक्रेनको युद्धमा परि लमजुङका एक युवकको मृत्यु भएको छ । रुसी सेनामा भर्ती भई युक्रेनसँग युद्धमा होमिएका

लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको खबर प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिए ।

रुसी सेनामा भर्ना भएका गुरुङको पाँच दिन अघिमात्र परिवारलाई मृत्यु भएको खबर प्राप्त भएको थियो ।

मृतक गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरुले उनका भाइ कुमार गुरुङलाई मृत्यु भएको खबर पठाएको वडाध्यक्ष दुर्गामानले जनाएका छन् । जर्मनीमा रहेका भाइ कुमारले दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेका छन् ।

गुरुङ दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्षसमेत बनेका थिए । रोजगारीका लागि भन्दै साढे तीन महिना अघि उनी रुसी सेनामा पुगेका थिए । उनको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् ।

नेपाल सरकारले रुस युक्रेन जान प्रतिवन्ध गरेको भए पनि अवैध बाटो भएर नेपालीहरु रुसी सेनामा भर्ना भईरहेका छन्। रुसी युक्रेन युद्धमा एक दर्जन बढी नेपालीहरुले ज्यान गुमाइसकेको जनाइएको छ ।