images

सडक दुर्घटना न्यूनिकरण गर्न रास्वपाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । रास्वपाका सहमहामन्त्री सुमना श्रेष्ठ, सचेतक निशा डाँगी र पूर्वाधार विभागका सचिव कृष्ण भेटवालले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामार्फत् दुर्घटना न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यो वर्षको मंसिरसम्म मात्र देशभर साना–ठूला गरेर करिब १० हजार ७ सय ४५ वटा दुर्घटनामा ९ सय १६ जनाले ज्यान गुमाएको रास्वपाले जनाएको छ । उक्त दुर्घटनामा दुई हजार ७ सय ९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भएका छन् । पछिल्लो तीन वर्षमा ५८ हजार ८ सय ७८ वटा दुर्घटना हुँदा ६ हजार १ सय ६७ जनाले अकालमा ज्यान गुमाएका छन् भने १५ हजार ७ सय ७१ जना गम्भीर घाइते भएका छन् ।

उक्त तथ्यांक प्रस्तुत गर्दै रास्वपाले दुर्घटनाको डरलाग्दो आँकडा र भयवाह दृश्य बारम्बार देखिरहँदा पनि सरकार र तिनका निकाय न्यूनीकरण गर्नेतर्फ गम्भीर नबनेको निष्कर्ष निकालेको छ ।

रास्वपवाले २०७६ पुस ४ गते प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले गणेश पहाडीको नेतृत्वमा गठन गरेको उपसमितिले दिएका सुझाव कार्यान्वयन भए–नभएको बारे जवाफ दिन पनि माग गरेको छ । सडक सुरक्षा परिषद् किन प्रभावकारी हुन सकिरहेको छैन भन्दै रास्वपाले सरकारलाई प्रश्न गरेको छ ।