images

सहकारी र बैंकिङ मुद्दामा थुनामा रहेका पूर्वसांसद तामाङको अन्तिम सुनुवाई सुरु

काठमाडौं–सहकारी ठगी र बैंकिङ कसुर मुद्दामा थुनामा रहेका पूर्वसांसद ईच्छाराज तामाङको सम्पत्ति शुद्धीकरण मुद्दामाथि विशेष अदालतमा अन्तिम सुनुवाइ सुरु भएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासमा मंगलवारबाट अन्तिम सुनुवाइ सुरु भएको हो । मंगलबार तामाङविरुद्ध सरकारी वकिलहरुले बहसको सुरुवात गरेका छन् । मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । उक्त मुद्दामा बुधबार बहस सक्ने तयारी गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष तामाङसहित उनको परिवारका ६ जनाविरुद्ध २०७९ भदौ १६ गते मुद्दा दायर गरेको थियो । विभागले दायर गरेको मुद्दामा ३ अर्ब ३१ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको दाबी गरिएको छ ।

यस्तै, तामाङकी श्रीमती सिर्जना शाक्यले १ अर्ब ३ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विभागको दाबी छ । तामाङका छोरीहरु प्रतिक्षासँग ६ करोड २२ लाख र प्रतिशाले १ करोड ८९ लाख, सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपैयाँ सम्पत्ति गैर कानुनी देखिएको अभियोगपत्रमा दाबी गरिएको छ ।

कूल बिगो ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ दाबी गरिएको छ ।