images

काठमाडौं महानगरपालिकाले उठायो ६ महिनामा झन्डै ५ अर्ब राजस्व

काठमाडौं–काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा झन्डै ५ अर्ब रुपैयाँ राजस्व उठाएको छ । अर्धवार्षिक अवधि अर्थात् ६ महिनाको अवधीमा ४ अर्ब ९० करोड ५१ लाख ९० हजार रुपैयाँ राजस्व असुल भएको हो ।

अघिल्लो आर्थिक वर्ष साउनदेखि पुस मसान्तसम्म ४ अर्ब ५६ करोड २९ लाख ५७ हजार रुपैयाँ राजस्व उठेको थियो । अघिल्लो आर्थिक वर्षको ६ महिनामा उठेको भन्दा यसपालि ३४ करोड रुपैयाँभन्दा धेरै राजस्व असुल भएको हो । महानगरको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेका अनुसार सबैभन्दा धेरै घर भाडा अर्थात् बहाल करका रूपमा १ अर्ब ३५ करोड ६३ लाख ३० हजार रुपैयाँ राजस्व प्राप्त भएको छ ।

त्यस्तै सम्पत्ति करमा ६७ करोड १७ लाख २० हजार असुल भएको छ । विभागका अनुसार पछिल्लो समय करदाताको सङ्ख्या बढेकाले गएको वर्षको तुलनामा राजस्व बढेको हो ।

महानगरले चालु आर्थिक वर्षमा १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ राजस्व असुल गर्ने लक्ष्य लिएको छ । विगतमा कोरोना महामारीका कारण लक्ष्यअनुसार कर सङ्कलन हुन नसके पनि यसपालि लक्ष्यमा पुग्न समस्या नहुने राजस्व प्रमुख काफ्लेले बताएका छन् ।