images

प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनमा सहभागी हुन कतार एअरलाइन्सबाट आज युगाण्डा प्रस्थान गरेका छन् ।

सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगाण्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीकी पुत्री गङ्गा दाहाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी छन् । प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा शुक्रबार सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसपछि उनी गणतन्त्र युगाण्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा समेत सहभागी हुनेछन् ।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री दाहालले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । मन्त्रीस्तरीय बैठकमा सहभागी हुन माघ १ गते नै युगाण्डा पुगेका परराष्ट्रमन्त्री साउदले बुधबार मन्त्रिस्तरीय बैठकमा सम्बोधन गरिसकेका छन् ।

शिखर सम्मेलनले मन्त्रिस्तरिय बैठकको प्रतिवेदनमाथि विचार विमर्श गर्ने, सन् २०१९ मा भएको १८औँ शिखर सम्मेलनको नतिजा कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुङ्गो लगाउने बताइएको छ । प्रधानमन्त्री यही माघ ७ गते बिहान काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको छ ।