images

स्पेस फोरके टेलिभिजनको समाचार प्रभावः पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक पुनको नियुक्ति बदर

काठमाडौ- स्पेस फोरके टेलिभिजनको कार्यक्रम “एंगल थ्री सिक्स्टी” को निरन्तर खबरदारीका कारण पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर भएको छ ।

उच्च अदालत पाटनले उनको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । स्पेस फोरक टेलिभिजनले नियुक्ति प्रक्रियामा उनको योग्यता र नियमावलीले तोकेको योग्यताबीच मेल नखाएको भन्दै निरन्तर रुपमा खबरदारी गरेको थियो ।

नियमावलीमा पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक हुनका लागि कम्तिमा १५ देखि २० वर्ष कुनै पनि सरकारी क्षेत्रमा काम गरेको हुनुपर्ने व्यवस्था छ । त्यसको अलावा शिक्षण पेशामा आवद्ध भई माथि उल्लेखित अनुसार अनुभव प्राप्त गरेको हुनुपर्ने उल्लेख छ । तर उनमा माथि उल्लेखित कुनै पनि योग्यता पुगेको देखिँदैन । उनको पत्रकारिताको अनुभवकै आधारमा पशुपति विकास कोषको कार्यकारी निर्देशक पदमा नियुक्ति हुन सक्ने कुरा नियमावलीमा कहिँ कतै उल्लेख छैन ।

उक्त विषयलाई लिएर कोषका भरत मरासिनीले दायर गरेको रिटमा उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो ।

अदालतले कोषको निर्णय कार्यान्वयन नगर्न भनेपछि उनको नियुक्ति बदर भएको हो । गत पुसको पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध पुस २९ मा मरासिनीले रिट दायर गरेका थिए ।