images

सहिद सप्ताहको पहिलो दिन, शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा स्मृति सभा

काठमाडौं– सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेकाे स्थान, काठमाडौंको टेकु, पचलीमा स्मृति सभा आयोजना गरिएकाे छ । साे क्षेत्रमा सहिद सप्ताह मूल समारोह समितिले सभा आयोजना गरेको थियो ।

स्मृति सभामा शास्त्रीको व्यक्तित्वका विषयमा चर्चा गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘नेपाल भाषाको व्याकरण लेख्ने शास्त्री पहिलो व्यक्तित्व हुनुहुन्थ्यो । बाल साहित्य लेख्ने पनि उहाँ नै पहिलो व्यक्तित्व हो । उहाँहरुले व्यक्तिगत र पारिवारिक समस्याभन्दा राष्ट्रिय स्वाधीनतालाई ठूलो ठान्नुभयो । यही क्रममा उहाँको बलिदानी भएको हो ।’ सहिदहरुको बलिदानीका कारण अहिले नागरिक स्वतन्त्रता र मानवअधिकार प्राप्त भएको उनको भनाइ थियो ।

बोलेको कसुरमा प्राणदण्ड दिने त्यो अन्धकारमय शासनलाई जनताका हातमा ल्याउन सहिदले गरेको बलिदानीको सम्मानमा धेरै काम गर्न बाँकी छन् । कार्यक्रममा वडा नं. १२ का अध्यक्ष एवं वातावरण समितिका संयोजक बालकृष्ण महर्जनले, एक दिन कार्यक्रम आयोजना गरेर नपुग्ने धारणा राखे ।

महानगरपालिकाले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दैछ । यी कार्यक्रममाहरुमा सहभागी हुन निमित्त प्रमुख प्रशासकीय अधिकृत सीताराम कोइरालाले आग्रह गरे ।

कार्यक्रम आयोजना गरिएको स्थानलाई वि. सं. २०३५ सालमा तत्कालीन काठमाडौ नगर पञ्चायतले शिलालेख राखी संरक्षण सुरु गरेको हो ।

पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने सहिदहरुको योगदान स्मरण गर्दै, उनीहरुको सम्मानमा काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा वि. सं. २०१२ सालदेखि सप्ताहव्यापी कार्यक्रम आयोजना हुने गरेका छन् । यस वर्ष माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा र १५ गते शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थानमा स्मृति सभा हुनेछ ।

महानगरले प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका ४ सहिदहरुको पूर्ण कदको शालिक उनीहरुले सहादत प्राप्त गरेकै स्थानमा स्थापना गरेको छ । २०७५ सालमा शुक्रराज शास्त्रीको शालिक स्थापना गरिएको हो भने धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको २०७६ साल स्थापना गरिएको हो । माथेमाको शालिक उनको जन्म स्थान ओमबहालमा पनि स्थापना गरिएको छ ।

यस वर्षको माघ १६ गते शान्तिबाटिकाबाट सुरु हुने प्रभातफेरी लैनचौरस्थित सहिद पार्कमा पुग्नेछ । संघीय मन्त्री तथा प्रदेश मन्त्रीहरु, संसदसहित उच्च पदस्थ पदाधिकारीहरु प्रभातफेरीमा सहभागी हुने छन । प्रधानमन्त्री समेत सहिद पार्कमा जाने कार्यक्रम तय गरिएकाे छ । त्यस अवसरमा नेपाली सेनाको टुकडीले सम्मान गारद अर्पण गर्नेछ ।

शास्त्रीको संक्षिप्त चिनारी
शुक्रराजको जन्म वि. सं. १९५० सालमा बनासरमा भएको थियाे । भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा सुरु गरेका शास्त्रीले इलाहवादकै आर्य समाज विद्यालयमा केही समय प्रधानाध्यापकका रुपमा काम गरेका थिए । त्यस क्रममा उनले पटना, दार्जिलिङ, कलकत्तालगायत स्थानमा भएका नेपालीभाषीविच नागरिक अधिकारका बिषयमा संगठन गर्न थालि सकेका थिए । त्यसपछि नेपाल फर्केका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो । यति हुँदाहुँदै पनि शास्त्रीले १९९४ सालमा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गरे । यस समितिको सदस्यमा गंगालाल श्रेष्ठ पनि रहेका थिए ।

धार्मिक गतिबिधिबाट जहानियाँ शाशनविरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा १९९४ मंसिर १३ गते इन्द्रचोकमा मानिसहरुलाई भेला गराएर गीताका श्लोकमार्फत जहानियाँ शासनको आलोचना गरेका थिए । राणाको बिरोध गरेको यही आरोप लगाएर उहाँलाई पक्राउ गरिएको थियो । १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्ध शमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो ।

यसरी जेल सजाय भोगिरहेकै बेला राणा शाशन विरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र धर्मभक्त माथेमालाई माघ १३ गते सिफल उकालो बकाइनाका रुपमा झुण्ड््याएर प्राणदण्ड दिइएको थियो । त्यस्तै गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा गोली हानेर प्राण दण्ड दिइएको थियो ।