images

कोशीमा गठबन्धका उम्मेद्वारलाई हराउँदै एमालेकी रूक्मिणी कोइराला विजयी

काठमाडौं– राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशीमा सत्ता गठबन्धनको उम्मेदवार हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् ।

उनले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गर्दै विजयी हासिल गरेकी हुन् ।

एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन् भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार पाइन् ।

प्रदेशसभातर्फ एमालेकी कोइरालालाई ४९ र कार्कीलाई ४४ जनाले मतदान गरे । प्रदेशसभामा कोइरालाले २५९७ मतभार र कार्कीले २३३२ मतभार पाइन् । स्थानीय तहतर्फ कोइरालालाई १३१ जना र कार्कीलाई १४० जनाले मतदान गरेका थिए । जस अनुसार कोइरालाको मतभार २४८९ र कार्कीको मतभार २६६० भएको थियो । गठबन्धनकाे सर्कुलर वेवास्ता गर्दै मतदाताहरूले फ्लाेर क्रस गरेर काेइरालाकाे पक्षमा मतदान गरेका छन् ।

कोशी प्रदेशमा सत्ता गठबन्धन भन्दा नेकपा एमाले राप्रपा गठबन्धन ७९४ मतान्तरले पछाडि थियो ।