images

राष्ट्रियसभामा माओवादी पहिलो दल बन्न सफल

काठमाडौं– राष्टियसभामा नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी बनेको छ । राष्ट्रियसभाको १९ पदका लागि भएको निर्वाचनमा माओवादीका ५ जना निर्वाचित भएपछि राष्ट्रियसभाको सबैभन्दा ठूलो दल बनेको हो ।

आजको निर्वाचनमा कांग्रेसका १०, माओवादीका ५, एकीकृत समाजवादीका २ र जनता समाजवादी पार्टीका १ जना निर्वाचित भए । एमालेले १ सिट जित्यो । यो चुनावी परिणामले राष्ट्रिय सभामा रहेको दलीय समीकरण फेरिएको हो । यसअघि राष्ट्रिय सभामा कांग्रेसका १० सांसद थिए । जसमा ४ जना फागुन २० गते बिदा हुँदैछन् । बाँकी रहेका ६ जनामा बिहीबार १० जना थपिएपछि राष्ट्रिय सभामा कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बनेको छ । माओवादी केन्द्रका ५ जना निर्वाचित भएका छन् ।

माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना छन् । ३ जना फागुन २० मा बिदा हुँदैछन् । थप ५ जना निर्वाचित भएकाले राष्ट्रिय सभामा माओवादी केन्द्र १७ सिटसहित सबैभन्दा ठूलो दल बनेको हो । पहिलो दलको रुपमा रहेको एमाले भने तेस्रो स्थानमा पुगेको छ। अहिले राष्ट्रियसभामा १८ सांसद रहेको एमालेका ९ सांसद बिदा हुँदा १ सीटमात्रै सुरक्षित गर्न सफल भएको छ । अब राष्ट्रिय सभामा एमालेका १० सांसद रहेन छन् ।

हाल एकीकृत समाजवादीका ८ जना छन् । दुई जना फागुनबाट बिदा हुँदै गर्दा बिहीबार नयाँ दुई जना निर्वाचित भएकाले उसको सांसद संख्या तलमाथि भएन । जसपाकी प्रमिलाकुमारी यादवको कार्यकाल २० फागुनमा सकिँदैछ । बिहीबार एक जना निर्वाचित भएर आएकाले जसपाको राष्ट्रिय सभामा उपस्थिति यथावत छ ।

राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको कार्यकाल सकिँदैछ । यो ठाउँमा जनमोर्चाकाी दुर्गा पौडेललाई ल्याउने सत्ता गठबन्धनको तयारी छ । यसो भएमा राष्ट्रिय सभामा जनमोर्चाका दुई सांसद हुनेछन् । लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् । यसरी माथिल्लो हाउसमा सात दलको उपस्थिति रहने छ । चुनावी परिणामसँगै राष्ट्रिय सभाको अध्यक्षको विषयमा समेत नेताहरुबीच छलफल सुरु भएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको कार्यकाल पनि फागुन २० गते सकिँदैछ । त्यस लगत्तै रिक्त पदका लागि निर्वाचन हुनेछ । हाल उपाध्यक्ष रहेकी उर्मिला अर्याल अध्यक्षको आकांक्षी छन् । राष्ट्रियसभा अध्यक्षमा कांग्रेसले पनि दाबी गरेको छ । कोसीबाट उम्मेदवार बनाउँदै गर्दा कृष्ण सिटौलालाई अध्यक्षको रुपमा व्याख्या गरिएको थियो । उनी निर्वाचित भएपछि राष्ट्रियसभा अध्यक्ष बन्ने सम्भावना बढेको छ । सिटौलाका नाममा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सकारात्मक रहेको बताइएको छ ।