images

जिबी राई विरुद्ध ’डिफ्यूजन नोटिस’ जारी

काठमाडौं– सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईविरुद्ध इन्टरपोलबाट ’डिफ्यूजन नोटिस’ जारी भएको छ । पोखराको सूर्यदर्शन सहकारीसँग जोडिएको ठगीसम्बन्धी मुद्दामा इन्टरपोलबाट डिफ्यूजन नोटिस जारी भएको र आज मात्रै उक्त सूचना प्राप्त भएको कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक मोहन थापाले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, कास्कीको अनुरोधमा नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौँले इन्टरपोललाई डिफ्यूजन नोटिस जारी गर्न एक हप्ता अघि नै पत्राचार गरेको थियो। सोही आधारमा उक्त नोटिस जारी भएको थापाले बताए । अनुसन्धानमा रहेका वेला फरार भएका व्यक्ति खोज्न डिफ्यूजन नोटिस जारी हुन्छ ।

राई मलेसियामा रहेको आशंका गरिएको छ । सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा कोषाध्यक्ष कुमार रम्तेललाई भने प्रहरीले पक्राउ गरिसकेको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको छ । सहकारीको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार हिनामिना गरेको आरोप छ ।