images

समूदायमा कांग्रेस अभियान अन्तर्गत आगामी १६ गते देशैभरका वडामा कार्यक्रम गर्दै

काठमाडौं–समुदायमा कांग्रेस अभियान अन्तरगत आगामी १६ गते कांग्रेसले देशभरका वडाहरुमा कार्यक्रम गर्ने भएकाे छ । अभियानका लागि कांग्रेसले जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि खटाएको छ । देशका ७७ जिल्लामध्ये हिमाली १० जिल्ला छाडेर अन्य जिल्लामा अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको कांग्रेसले जनाएको छ ।

 

जिल्लामा खटिएकाहरुले १५ गतेसम्म पार्टीको आन्तरिक काम गर्नेछन् । त्यसपछि २६ गतेसम्म अभियान अन्तर्गतका विभिन्न कार्यक्रमहरु हुनेछन् ।

२६ माघमा कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको स्मृति दिवसमा यो अभियान समाप्त हुने कांग्रेस नेताहरुले बताएका छन् । चिसो मौसममा अभियान सञ्चालन गर्न कठिन हुने भन्दै १० वटा हिमाली जिल्लामा भने प्रतिनिधि खटाइएको छैन ।

यसैबीच कांग्रेस महामन्त्री गगन थापाले झापाबाट हुलाकी राजमार्ग केन्द्रित ‘संवाद यात्रा’ सुरु गरेका छन् । पूर्व निर्धारित कार्यक्रमअनुसार थापाले आजदेखि भद्रपुरको मेची पुलबाट यात्रा थालनी गरेका हुन् । अभियानको पहिलो दिनमा गगन थापाका साथै अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरु कृष्णप्रसाद सिटौला, प्रदीप पौडेललगायत सहभागी भएका छन् ।

यो यात्रा २६ माघसम्म हुलाकी राजमार्ग वरपर पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म चल्ने जनाइएको छ । संवाद यात्रामा खुला छलफल, समूहगत छलफल, व्यक्तिगत छलफल र अवलोकन गरी चार प्रकृतिका कार्यक्रम हुने महामन्त्री थापाको सचिवालयले जनाएको छ ।