images

सूर्यदर्शन सहकारी प्रकरणः अध्यक्ष र पूर्व अध्यक्षलाई पक्राउका लागि डिफ्युजन नोटिस जारी

काठमाडौं– पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोग लागेका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध पनि इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले सहकारीका वर्तमान अध्यक्ष बुढामग र पूर्व अध्यक्ष राईविरुद्ध पनि नोटिस जारी भएको जानकारी दिए । यस अघि ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईविरुद्ध डिफ्युजन नोटिस जारी गरेको सूचना सार्वजनिक भएको थियो ।

 

सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्षसमेत रहेका जीबी राईसहित वर्तमान र पूर्वअध्यक्षविरुद्ध सहकारीको रकम हिनामिनासम्बन्धी मुद्दामा कास्की प्रहरीले डिफ्युजन नोटिसको प्रक्रिया अगाडि बढाइदिन प्रहरी प्रधान कार्यालयलाई अनुरोध गरेको थियो । साेही अनुसार प्रहरी प्रधान कार्यालयले राईविरुद्ध नोटिस जारीका लागि इन्टरपोललाई २ साताअघि मात्रै पत्राचार गरेको थियो ।

कास्की जिल्ला अदालतमा जिबी राईसहित १९ जनाविरुद्ध सहकारीको १ अर्बभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा  मुद्दा विचाराधीन छ । अभियुक्त विरुद्ध डिफ्युजन जारी भएसँगै उनीहरुलाई विश्वभरका प्रहरीको फरार सूचीमा रहनेछन् ।