images

चलचित्र ‘पिताम्बर’निर्माणकाे औपचारिक घोषणा

काठमाडौं– कृषा चौलागाईको निर्देशनमा निर्माण हुने सिनेमा ‘पिताम्बर’को औपचारिक निर्माण घोषणा गरिएको छ । सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरिएको हो ।

निर्मात्री तथा निर्देशक कृषाको ‘ऐंचो पैंचो’ पश्चात दोस्रो निर्देशकिय सिनेमा हो ‘पिताम्बर’ । सिनेमामा कलाकारको लाइनअप बलियो बनेको छ । माघ अन्तिमबाट छायांकन सुरु हुन लागेको सिनेमामा प्रदीप खड्का, सुरक्षा पन्त, प्रमोद अग्रहरी र कामेश्वर चौरासियापछि सौगात मल्ल, आँचल शर्मा, अनुपविक्रम शाह र दिव्यदेव अनुबन्ध भएका छन् । कलाकारको यो लाइनअपले सिनेमा केही फरक र स्पेशल बन्ने देखिन्छ ।

केपी फिल्म्सले पुरुषोत्तम प्रधान फिल्म्ससँग सहकार्य गरेको सिनेमालाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । सिनेमाको निर्मातामा विशाल चौलागाई छन् । सिनेमाको तीन चरणमा छायांकन हुनेछ । हुस्सुको सिन खिच्नुपर्ने भएकाले माघमा सिनेमाको पहिलो चरणको छायांकन गर्ने तयारीमा कृषा छिन् । त्यसपछि बैशाख र असार-साउनमा बाँकी छायांकन हुनेछ ।

सिनेमामा प्रदीप एक्सन भूमिकामा देखिनेछन् । उनी सिनेमाको दोस्रो चरणको छायांकनमा जोडिनेछन् । प्रदीप भारद्धाजको लेखन रहेको सिनेमालाई निर्देशक चौलागाईले लार्ज स्केल बनाउँदैछिन् । ५ करोड बजेट अनुमान गरिएको सिनेमाको तराईका विभिन्न ठाउँहरुमा छायांकन हुनेछ ।