images

माओवादी शीर्ष नेतादेखि भ्रातृ संगठनका पदाधिकारीहरु विभिन्न काण्डमा संग्लन,संरक्षण गर्दै प्रचण्ड सरकार !

केशर कार्की

काठमाडौं– सरकारको नेतृत्व अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका  छन् । उनले सरकारकाे नेतृत्व  समालेकाे दिनदेखि नै भ्रष्टाचारविरुद्ध निर्मम बन्ने उद्घोष गरेका थिए। तर पछिल्लाे समय उनै प्रधानमन्त्री प्रचण्ड आफैंले बोलेको कुरा लागू गर्नबाट पन्छिदै गएको देखिन्छन् ।

भ्रष्टाचार र अपराधका केही ठूला फाइल खोलेर चर्चामा आएका प्रचण्ड आफ्नै पार्टीका नेताहरूकाे नाम मुछिएसँगै कार्बाहीकाे साटाे संरक्षणमा लागेको देखिन्छन् । पार्टीका नेतामाथि गम्भीर आरोप लाग्दा पनि उनले  पार्टी र सरकार कहिँबाट त्यसकाे खबरदारी गर्न सकिरहेका छैनन् ।

प्रधानमन्त्री प्रचण्ड आफै माओवादी क्यान्टोनमेन्ट घोटला काण्डमा मुछिएका प्रमुख  पात्र समेत हुन । त्यस्तै अर्का काण्डमा मुछिएका पात्र मध्ये  उपमहासचिव नेता जनार्दन शर्माकाे नाम पनि अग्रपंतिमा छ । शर्मालाई अर्थमन्त्री हुँदा सिसिटिभि फुटेज डिलिट गरेको र नेपालबाटै अमेरिकामा रहेका वृद्धाहरूलाई झुक्याएर रकम ठगी गरेको आरोप लागेको छ ।  माओवादीका उपाध्यक्ष समेत रहेका पूर्व सभामुख  कृष्णबहादुर महरा पनि विवादित मध्येका प्रमुख पात्र हुन् । महरा बलात्कारदेखि सुन काण्डमा  मुछिए। महरा मात्रै नभएर महराको छोरा राहुल महरासमेतअवैद्य सुन कारोबार गर्ने गिरोहसँग मिलेको अनुसन्धानबाट खुलेको छ । राहुल अहिले पूर्पक्षका लागि कारागारमा रहेका छन् । तर  कृष्णबहादुर महराकाे नाम मुछिएको भए पनि उनलाई अनुसन्धानको दायरामा समेत ल्याउन सकेनन् प्रचण्डले ।

विभिन्न घटनाहरुसँग जोडिएका महराले सञ्चार माध्यमसँग प्रष्ट रूपमा भनेका थिए ,’हामी त सानो माछा मात्रै हो । धेरै ठूला माछा छन् यसमा । हामी त भुरेभारा माछा मात्रै हौं। सबै बताउन चाहँदैन । समयक्रमसँगै आउने छ ।’

महारा बाबुछोराले सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग बाक्लो फोन सम्पर्क गरेको अनुसन्धानबाट खुलेको थियो । साथै उनीहरुले भेपमार्फत तस्करी भएको सुन निकासीका लागि विमानस्थल भन्सारका कर्मचारीलाई दबाब पनि दिएका थिए । तर महरा अनुसन्धानको दायरामा अझै आउन नसक्नुको कारण के हो ? भन्ने कुरा अझै रहस्यमय छ ।

माओवादी केन्द्रका अर्का उपमहासचिव वर्षमान पुन पनि सुन तस्करीमा मुछिएका बेल्जियम नागरिक दावा छिरिङसँग जोडिएका पात्र हुन । एक क्विन्टल सुन तस्करीमा पक्राउ परेका दावा छिरिङसँग पुनको पारिवारिक सम्बन्ध रहेको खुलेको छ । उक्त विषयमा समेत प्रचण्डकै दबावका कारण छानविन प्रक्रिया अघि बढ्न सकिरहेको छैन।

पूर्व डिआइजीको हेमन्त मल्लले भने,’राजनीतिक आवरणमा गरेको जुन अपराधहरु छन् । ती व्यक्तीहरु कहिँ न कहिँ सत्ताको नजिक भएकाले उनीहरुको संरक्षण भइरहेको देखिन्छ ।’अपराधीकाे राजनीतिकरण गर्ने परिपाटीकाे अन्त्य हुनु पर्नेमा उनकाे जाेड छ।

माओवादीका ठूला नेता मात्र हैनन् भातृ संगठनका नेता पनि विभिन्न अपराधिक गतिविधिमा संलग्न भएको  तथ्य सार्वजनिक भइरहेकाे छ । विगत १५ वर्षअघि कालीकोटका-१७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न भएको आरोपमा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध दुइ पटक अदालतले पक्राउ पूर्जी जारी गरेको छ । तर, उनलाई पक्राउ गर्न प्रहरीले नै चासो देखाएको छैन । सिंह, प्रचण्ड क्याभिनेटसँग नजिक भएकै कारण प्रहरीले समेत पक्राउ गर्न आनाकानी गरिरहेको देखिन्छ ।

प्रहरीको फरार सूचीमा रहेकी सिंह खुलेआम भाषण गर्दै हिँडिरहेकी छिन् । पूर्वजनमुक्ति सेनाका डिभिजन कमाण्डर कालीबहादुर खाम पनि सरकारी सूचीमा विगत १४ वर्षदेखि फरार छन् । चितवनको शक्तिखोर शिविरमा व्यापारी रामहरि श्रेष्ठको हत्याको घटनामा जोडिएर फरार भएका खामलाई प्रहरी पक्राउ गर्न सकेको छैन् । प्रधानमन्त्री र गृहमन्त्री माओवादीकै नेतृत्वमा भएका कारण उनका पार्टीका अपराधी गिरोहलाई संरक्षण भइरहेको सर्वसाधरणको गुनासो रहेको छ ।