images

झण्डै २ लाख नक्कली नोटसहित सर्लाहीको हरिवनबाट दुई जना पक्राउ

मनोज यादव

सर्लाही-सर्लाहीको हरिवनबाट प्रहरीले १ लाख ७२ हजार नक्कली नोटसहित दुई जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा न-२ का ३६ वर्षीय संजय सहनी र सर्लाहीको बलरा नगरपालिका वडा न-७ का २७ वर्षीय अमरेन्द्र महरा रहेको प्रहरीले जनाएको छ ।

प्रदेश-०२-०२७ प ४२५६ नम्बर र बीआर ३० एसी ८३१८ भारतीय नम्बरको मोटरसाइकलमा सवार भएर कर्मैयाबाट पूर्व लालबन्दीतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई सुराकीको आधारमा हरिवन नगरपालिका वडा न.११ कडरिया चौकमा रोकेर चेकजाँच गर्ने क्रममा ४२५६ नम्बरको मोटरसाइकलमा सवार सहनीले बोकेको कालो खैरो रङको झोलाबाट प्लास्टिकले प्याक गरेको २५ वटा बण्डल नक्कली नाेट फेला पारेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २१ वटा बण्डलको बीचमा तल पेपर र माथि केही हजार दरका नक्कली नोट र ४ वटा बण्डलको तल र माथि केही हजार दरका नक्कली नोट तथा बीचमा २० वटा टेस्टी बिस्कुटको पुरिया फेला परेको छ । २५ वटा बण्डलमा कुल १ सय ७२ थान हजार/हजार दरका नक्कली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जानकारी दिए ।

यस्तै भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार महराको साथबाट ८ ग्राम ८१० मिलीग्राम गाँजा पनि बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीद्वारा गरिएको प्रारम्भिक अनुसंधानको क्रममा उनीहरु साथी रहेको र लालबन्दीतर्फ जाँदै गरेको बताएका थिए । प्रहरीले उनीहरूलाई रोक्न खोज्दा भाग्ने प्रयास गरेका थिए।

नक्कली नोटको कारोबारमा अन्य पनि संलग्न रहेको आशंकासहित दुवैजनालाई इलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखेर थप अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविन धितालले जानकारी दिए।