images

८ औं वैज्ञानिक शिखर सम्मेलन सुरु, अब्बल अन्वेषकहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भाग लिन पाउने

काठमाडौं– ८ औं युवा वैज्ञानिक शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ । शिक्षा मन्त्रालयसँगको सहकार्यमा नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब एसएस÷कलेजले सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट), नेसनल इनोभेसन सेन्टर (एनआइसी), युनेस्को नेपाल, रिसर्च एन्ड डेभलपमेन्ट सोसाइटी (आरडिएस) र साइन्स टिचर्स नेपाललगायतको सहकार्य रहेको छ ।

८ औं युवा वैज्ञानिक शिखर सम्मेलनमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूले शोधकर्ताका रूपमा भाग लिएका छन् । युवा शोधकर्ताहरूका लागि विभिन्न ६ वटा विधा छुट्याएको छ । जसअन्तर्गत इन्जिनियरिङ र रोबोटिक्स, जीवविज्ञान, रसायन र वातावरण विज्ञान, भौतिक विज्ञान र गणितका साथै कम्युटर विज्ञान तथा इन्डिजेनिएस ज्ञान र प्रविधि विधा तोकिएको छ ।

 

प्रत्येक विधाका विजेताहरूले १३औं एसिया प्यासिफिक सम्मेलनमा भाग लिनका लागि आवेदन दिन पाउनेछन् । पुरस्कारका विजेताहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अन्य खोज अनुसन्धानमूलक गतिविधिमा भाग लिन पाउनेछन् ।

सम्मेलनमा महिला र फरक क्षमता भएका युवा वैज्ञानिकलाई प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ । सम्मेलनमा प्रस्तुत गरेको विषयवस्तु, भिडियो क्लिपका साथै पोस्टर र मौखिक प्रस्तुतीकरणका आधारमा छनोट गरिने बताइएको छ ।