images

ठगि मुद्दाको आरोपमा चन्द्र माविका प्रधानाध्यापक मधुसुदन कर्ण पक्राउ

नरेशचन्द्र बरबरिया

सिरहा-नेपालकै दोस्रो उच्च चन्द्र माध्यमिक विद्यालय (चमावि) का प्रधानाध्यापक मधुसुदन कर्ण पक्राउ परेका छन । सिरहाका एक व्यवसायीलाई ठगी गरेको आरोपमा प्रधानाध्यापक कर्ण सोमबार पक्राउ परेका हुन् ।

नेपाल आयरन स्टोर्स एण्ड जनरल सप्लायर्सका संचालक सिरहा नगरपालिका–८ निवासी रोशन कुमार यादवले उच्च अदालत जनकपुर, राजविराजमा दायर गरेको ठगी मुद्धाको सुनुवाईको आधारमा प्रहरीले प्रधानाध्यापक कर्णलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक रविन्द्रराज पाण्डेले स्पेस समाचारलाई बताए ।

‘अदालतको आदेश अनुसार प्रअ कर्णलाई पक्राउ गरिएको हो,’उनले भने,‘पक्राउ पछि पहिलो चरणमा अदालतबाटै सात दिनको म्याद थप गराइएको छ ।’ उनका अनुसार कानून बमोजिम कारवाहीका लागि अनुसन्धान प्रक्रिया अगाडि बढाइने छ ।

विद्यालयको भौतिक निर्माणका लागि सिरहा बजारमा रहेको नेपाल आयरन स्टोर्स एण्ड जनरल सप्लायर्सबाट सिमेन्ट, छड, तार, रंग तथा निर्माणमा उपयोग हुने अन्य सरसमान लिई भुक्तानी दिन आलटाल गर्दै आएको आरोप लागेको थियो । पसल संचालक रोशन कुमार यादवका अनुसार पटक पटक गरी १७ लाख ४ हजार ५ सय ८१ पैसा ४ बरावरको बील लिई चन्द्रमाविका प्रअ कर्णले भुक्तानी दिन आलटाल गर्दै आएका थिए ।

पसलका साहु यादवले भने‘पैसा पाउन विद्यालयमा वर्षै धाए । दिएको समान वापतको पैसा पाउँछु भनेर कयौं पटक विद्यालयमा गएँ । कयौं दिन बित्यो । धेरै प्रयास गर्दा पनि समान अनुसारको बील पाएको भनी पत्र दिएपनि भुक्तानी भने दिएन् ।’उनले थपे भुक्तानी पाउन विद्यालयमा कयौं पटक मौखिक र लिखित रुपमा दिएको निवेदनलाई बेवास्ता गर्न थालेपछि अदालती प्रक्रियामा गएको हुँ ।

माग बमोजिम २०७४ साल देखि पटक पटक विभिन्न निर्माण सामग्री दिए अनुरुप चन्द्रमाविमा सोको बिल दिएको बताउदै उनले भने,‘चन्द्रमाविमा पेश गरिएको बिलको भ्याट समेत तिरेर दोहरो मारमा परेको छु ।’

व्यापार घाटा भइरहदा भुक्तानीका लागि विभिन्न निकायसँग समन्वय गर्दा र धेरै हारगुहार मागेपनि कुनै वास्ता नगरेको उनले दुखेसो पोख्दै भने,‘न्याय मरेको छैन् भन्ने विश्वासका साथ अदालती प्रक्रियामा गएको छु ।