images

बाँसबारी सरकारी जग्गा प्रकरणः अरुण चौधरीसहित ३ जना हाजिरी जमानीमा रिहा

काठमाडौं–बाँसबारी छालाजुत्ता कारखानको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित ३ जना हाजिरी जमानीमा रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतको आदेशबमोजिम प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले चौधरीसहित बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा र चाँदबाग स्कुलका सञ्चालक सञ्जय ठाकुरलाई हिरासतमुक्त गरेको हो ।

उनीहरू तीनै जनालाई खोजेको बेला उपस्थित हुने शर्तमा रिहा गरिएको सीआईबीले जनाएको छ । सीआईबीले पक्राउ गरे पनि स्वास्थ्यको कारण देखाउँदै अरुण र अजितलाई हिरासतमा नराखी ग्रान्डी अस्पतालमा राखिएको थियो । ठाकुर भने सीआईबीकै हिरासतमा थिए । रिहा भए पनि उनीहरूबारे अनुसन्धान जारी रहने सीआईबीले जनाएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले २५ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको भन्दै उनीहरुलाई हिरासतमुक्त गर्न आदेश दिएको थियो । सीआईबीले उनीहरुलाई १६ माघमा पक्राउ गरेको थियो । मुलुकी अपराध संहिताको दफा १५ मा कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखिए सरकारी वकिलको सहमतिमा अनुसन्धान अधिकृतले हाजिर जमानी वा तारेखमा छाड्न सक्ने व्यवस्था छ ।