images

चितवनको नारायणी नदी किनारामा राष्ट्रिय चिया प्रदर्शनी

काठमाडौं– राष्ट्रिय चिया तथा कफी बोर्डको आयोजनामा नारायणी नदी किनारमा आजदेखि राष्ट्रिय चिया प्रदर्शनी तथा ‘टि टेस्टिङ’ गरिएको छ । शनिबारसम्म चल्ने प्रदर्शनीले नेपालमा उत्पादित चिया देशभित्रै खपत बढाउन सहयोग पुग्ने लक्ष्य लिइएको छ ।

कृषि तथा पशु विकासमन्त्री डा वदुराम भुषालले उक्त प्रदर्शनी शुभारम्भ गर्दै देशको सम्बृद्धिका लागि अहिलेको सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताए । बजारमा माग भएका खेतीमा ध्यान दिन आग्रह गर्दै उहाँले चिया पनि सोही खेतीअन्तर्गत पर्छ भने ।

चितवनमा पहिलोपटक आयोजना गरिएको प्रदर्शनीले चिया सेवनको विधि, चिया संस्कृतिको विकास र नेपाली चियाको आन्तरिक बजार प्रवद्र्धन हुने उद्देश्य लिइएको छ । नेपालमा उत्पादित चिया देशभित्रै खपत बढाउनाका साथै यसका फाइदाबारे जानकारी दिने उद्देश्यले उक्त प्रदर्शनी आयोजना गरिएको हो ।

‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ चियाको प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा चिया उत्पादन हुने मुख्य जिल्ला झापा, इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, पाँचथर, सिन्धुपाल्चोक, ललितपुर, कास्कीदेखि पश्चिमसम्म उत्पादित चिया देख्न पाइन्छ । चिया प्रदर्शनी कार्यक्रमले आगामी दिनमा नेपाली चियाको आन्तरिक बजार विस्तार गर्दै स्वदेशी चियामा उपभोक्ता अझ बढी आकर्षित हुने विश्वास लिइएको छ ।

प्रदर्शनीमा सहआयोजकमा उद्योग वाणिज्य सङ्घ चितवन, होटल व्यवसायी सङ्घ चितवन, चियासँग सम्बन्धित विभिन्न सङ्घसंस्था छन् भने प्रवद्र्धकमा भरतपुर महानगरपालिका रहेको छ ।