images
images

जाल्सानद्वारा नवौं जापानी वक्तृत्वकला प्रतियोगिता सम्पन्न

काठमाडौं–जापानीज भाषा तथा शिक्षा परामर्श व्यवसायीहरुको छाता संस्था जापानीज ल्याङ्ग्वेज स्कुल एशोसियसन अफ नेपाल (जाल्सान)ले नेपालमा जापानी भाषा बक्तृत्वकला प्रतियोगिता (‘जापानी ल्याङ्ग्वेज स्पीच कन्टेस्ट) सम्पन्न गरेको छ ।

जापानी भाषा, संस्कृति र शैक्षिक प्रणालीको प्रवद्र्धन गर्ने उद्देश्यका साथ शनिबार जाल्सानले नवौं जापानी ल्याङ्ग्वेज स्पीच कन्टेस्ट प्रतियोगिता सम्पन्न गरेको हो ।

प्रतियोगितामा विभिन्न जापानीज भाषा तथा शैक्षिक परामर्श प्रदान गर्ने १२ वटा संस्थाहरुबाट १२ जना विद्यार्थीहरुले भाग लिएका थिए ।प्रतियोगितामा मिसाकी जापानीज एण्ड इन्टरनेशनल ल्याङ्ग्वेज एजुकेशन सेन्टरका रविना गोले प्रथम भएकी छन् । द्वितिय हुनेमा हाकुहो जापानीज ल्याङ्ग्वेज स्कुलबाट आयुष कंसाकार रहेका छन् भने, सगरमाथा जापानीज ल्याङ्ग्वेज इन्ष्टिच्युटबाट पारसमणि दाहालले तृतीय स्थान हात पार्न सफल भए ।

प्रतियोगितमा प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमशः शिल्डसहित ल्यापटप, ट्यावलेट र मोवाइल प्रदान गरिएको छ । साथै सहभागिहरुलाई सान्त्वना पुरस्कार र प्रमाणपत्रसमेत वितरण गरिएको छ ।

जाल्सानका अध्यक्ष रमेश देवकोटाका अनुसार,उच्च शिक्षाका लागि जापान जाने तयारीमा रहेका विद्यार्थीको वाक क्षमता अभिवृद्धि गर्न तथा जापानीज भाषा, कला संस्कृति, परम्परा र शैक्षिक प्रणालीबारे पूर्ण जानकारी हुन सकोस् भन्ने उदेश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।

अध्यक्ष देवकोटाले भने, ‘हामी यस जापानीज भाषा वक्तृत्वकाला प्रतियोगिताको नवौं श्रृंखलामा आइपुगेका छौं । जाल्सानले विद्यार्थीहरुमा जापानको शैक्षिक प्रणाली, भाषा, संस्कृति र परम्पराबारे अधिक ज्ञान प्रदान गर्ने उदेश्यले प्रतियोगिता गर्दै आइरहेको छ ।’

उनले जाल्सानले जापानीज भाषा वक्तृृत्व प्रतियोगिता मात्रै नभएर समय समयमा संस्थाका सदस्य व्यवसायीहरुलाई काउन्सिलर तालिम प्रदान गर्ने, शैक्षिक मेला आयोजना गर्ने, जापानीज फुड कल्चरलाई प्रोत्साहन गर्ने र नेपालमा जापानी संस्कृति ‘हानामी’ परम्पराको प्रवद्र्धनमा पनि सक्रिय रहँदै आएको जानकारी दिए । जापान फाउन्डेसनको सहयोगमा जलसानको कार्यालयमा पुस्तकालयसमेत स्थापना गरिएको छ ।

शिक्षा मन्त्रालयबाट दिइने एनओसी कारण जापानमा पढ्न जाने विद्यार्थीहरुलाई समस्या भइरहेको बताउँदै त्यसको समाधानको लागि पहल गरिदिन कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि जापानी राजदूत किकुता युकुताको ध्यानाकर्षणसमेत गराए ।

कार्यक्रमका प्रमुख अतिथि राजदूत युकुताले जाल्सानले जापानीज भाषा, संस्कृति र परम्पराको संवद्र्धनमा विगतदेखि पुर्याउँदै आएको योगदानको चर्चा गर्दै खुशी व्यक्त गरे । उनले जापानीज शिक्षा हासिल गर्ने प्रक्रियामा भइरहेको केही कठीनाइहरुको पहिचान गरी समाधानको लागि पहल गर्ने बताए ।

राजदूत युकुताले जापानीज भाषा वक्तृत्वकला प्रतियोगितामा भाग लिने विद्यार्थीहरुको प्रशंसा समेत गरे। जापानीज दूतावासको आफ्नै आधिकारीक फेसबुक पेजमा जापानको शिक्षा, भाषा, कलासंस्कृति र परम्पराबारे अधिक जानकारी समेटिएको बताउँदै उनले विद्यार्थीहरुलाई उक्त फेसबुक पेज हेर्न र अध्ययन गर्न पनि आग्रह गरे ।