images

प्रधानमन्त्री प्रचण्डले बुझाए राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन

काठमाडौं–प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेका छन् ।सोमबार प्रधानमन्त्री दहालले शीतलनिवास पुगेर प्रतिबेदन बुझाएका हुन् ।

प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता, राष्ट्रिय सुरक्षालगायतका संवेदनशील कार्यमा राष्ट्रिय सुरक्षा परिषद् सधैं चनाखो रही कार्यसम्पन्न गर्न दृढ रहनेमा विश्वस्त रहेको बताए । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम व्यवस्था भएको राष्ट्रिय सुरक्षा परिषद्ले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता, सुरक्षालगायतका संवेदनशील कार्यमा आफ्नो रणनीतिक दृष्टिकोणसहित ठोस सुझाव प्रस्तुत गरेकामा खुसी व्यक्त गरे ।

नेपालको संविधानको धारा २६६ को उपधारा ३ मा राष्ट्रिय सुरक्षा परिषद्ले आफ्नो काम कारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ । उक्त समारोहमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डाक्टर प्रकाशशरण महतलगायत परिषद् सदस्यहरूको उपस्थिति थियो ।