images
images
images

सर्लाहीका उखु किसानहरूले हप्ता दिनमै भुक्तानी पाउन थालेपछि खुसी

सर्लाही–सर्लाहीका अधिकांश किसान नगदेबालीको रुपमा रहेको उखु खेती गर्दै आएका छन् । उखु खेतीबाट जिल्लाका हजारौं किसानको जीवन उकासिनुका साथै थुप्रैले रोजगारी समेत पाएका छन्।

तर यहाँका केही चिनी मिलहरुले उखु किसानलाई मर्का पर्ने गरी कम मूल्य निर्धारण गर्ने, उखु बिक्री गरे वापतको भुक्तानी समयमा उपलब्ध नगराउने जस्ता कारणले धेरै किसानहरु उखु खेतीबाट नै बिस्थापित हुनुपर्ने अवस्थामा आएको छ। तीनवटा चिनी मिलहरु रहेको सर्लाही जिल्लामा हरिवन स्थित रहेको इन्दुशंकर चिनी उद्योगले भने किसानलाइ उखु बिक्री गरेको एक सातामै पैसा भुक्तानी गर्ने गरेको छ । एक सातामै उखु किसानहरुले पैसा पाउन थालेपछि खुसी व्यक्त गरिरहेका छन् ।

इन्दुशंकर चिनी उद्योगले यसवर्ष उखु बिक्री गरेको हप्ता दिनभित्रै पैसा खातामा हाल्दिएको भन्दै किसान उत्तम उप्रेतीले खुसी व्यक्त गरे ।

यो वर्ष सरकारले चिनी मिलले ५६५ र सरकारले अनुदानबापत ७० रुपियाँ प्रदान गर्ने गरी उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपियाँ निर्धारण भएको छ । पुस ६ गतेदेखि उखु क्रसिङ सुरु गरेको इन्दुशंकरले हालसम्ममा १८ लाख ३६ हजार क्विन्टल उखु क्रसिङ गरिसकेको छ । उद्योगले किसानबाट खरिद गरिएको उखुको ८५ करोड रुपैया भुक्तानी गरिसकेको ईन्दुशन्कर चिनी उधोग प्रबन्धक योग नारायण रंजन जानकारी दिए ।

उखु खेतीको लागि पकेट क्षेत्र मानिएको सर्लाही जिल्लाको हजारौँ हेक्टर क्षेत्रफलमा लाखौँ क्विन्टल उखु उत्पादन हुने गरेको छ। तर केही वर्षयता समयमै पैसा नपाउने भएपछि किसानहरु विस्तावित बनेका छन् भने,उद्योगहरूले पर्याप्त उखु पाउन छाडेका छन् । यस अघि १९ हजार बिघा क्षेत्रफलमा उत्पादन हुँदै आएको उखु वर्षेनी भारी मात्रामा गिरावट हुँदै आएको कृषि ज्ञान केन्द्र सर्लाहीको तथ्याङ्कले देखाएको छ ।

जिल्लाको हरिवन नगरपालिकामा रहेको इन्दुशंकर चिनी उद्योग बाहेक धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण चिनी उद्योग किसानहरुको पुरानो भुक्तानी नदिएका कारण यस वर्ष पनि संचालनमा आएको छैन । यस्तै गोडैता नगरपालिका स्थित बगदहमा रहेको महालक्ष्मी सुगर मिल यो वर्ष संचालनमा आएपनि भुक्तानी नदिएको किसानहरुले गुनासो गरेका छन् ।

देशभरिमै सबैभन्दा धेरै उखु खेती हुने गरेको यस जिल्लामा पछिल्ला केही वर्ष यता लगातार उखु उत्पादन घट्दै गएको चिनी उद्योगहरुको तथ्यांकमा उल्लेख छ। उखु उत्पादन घट्दै जानुको मुख्य कारण किसानहरुले लागत अनुसार मूल्य नपाउनु रहेको मिल गेट उखु उत्पादक समिति सर्लाहीको अध्यक्ष राज कुमार उप्रेतीले बताए ।

राज्यसँग सडक आन्दोलनबाट संघर्ष गर्न नसक्ने भएपछि जिल्लाका उखु उत्पादक किसानहरू उखु खेतीबाट पलायन हुनुपरेको छ, जसका कारण जिल्लामा उखु उत्पादन घटेको उखु उत्पादक किसान अगुवा एवं नेपाल उखु उत्पादक संघका अध्यक्ष उप्रेतीले बताए।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS