images

युद्धमा ज्यान गुमाएका नेपालीका परिवारलाई राहत दिन रुस तयार

काठमाडौं– रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा ज्यान गुमाएकाका परिवारलाई नेपाली दूतावास मार्फत राहत दिन रुस तयार भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा भर्ती भएर युद्धका क्रममा मृत्यु भएका नेपालीका परिवारलाई नेपाली दूतावासमार्फत राहत दिन रुस तयार भएको हो । रुसको सुरक्षा फौजमा भर्ती भएका नेपालीका विषयमा सरकारले गरिरहेको प्रयासमा मृतकका परिवारलाई राहत उपलब्ध गराउने विषयमा महत्वपूर्ण उपलब्धि हात लागेकोे परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार रुसी सरकारले मस्कोस्थित नेपाली दूतावासलाई राहत रकम उपलब्ध गराउने भनेको छ । उक्त रकम परराष्ट्र मन्त्रालयमार्फत नेपाल ल्याइनेछ । त्यसपछि जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित परिवारलाई दिइने जनाइएको छ ।

यसअघि रुसले मृतकका परिवारलाई राहत रकम लिन परिवारका कम्तीमा एक सदस्य रुस नै पुग्नुपर्ने बताउँदै आएको थियो । मृतकको परिवारले बीमा र राहतबापत १ करोड ५० लाख रुपैयाँ पाउन सक्नेछन् । तर मृतकको बीमा छैन भने प्रत्येक परिवारले लगभग ७३ लाख रुपैयाँ पाउने छन् । यद्यपि, राहत रकम कति हुने भन्ने टुंगो नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रुसले गत जनवरीको सुरुवातमा पास गरेको आदेशमा युक्रेन युद्धमा सहभागी विदेशी नागरिकलाई नागरिकता दिने र राहत दिने उल्लेख छ । त्यस्तै अर्को एउटा आदेशमा युक्रेनसँगको युद्धमा मारिएका रुसी सैनिकका परिवारलाई ५० लाख रुबल क्षतिपूर्ति दिने र युद्धका क्रममा घाइते भएकाहरूलाई ३० लाख रुबल क्षतिपूर्ति दिने उल्लेख छ ।