images

सहकारी ठगी प्रकरण, रवि लामिछानेर जिबि राईमाथि अनुसन्धान सुरु

काठमाडौं–सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ ।

विभागले काठमाडौंमा रहेका सबै वाणिज्य बैंकहरुलाई पत्र लेखेर राई र लामिछानेको बैंक खाता भए/नभएको र भएमा कस्तो खाता छ भनी सोधेको छ । त्यस्तै बैंक खाताको सबै विवरण, बैंक स्टेटमेन्ट, खाता खोल्दा पेश गरेका कागजात र हालको मौज्दात रकमको समेत विवरण माग गरेको गरिएको छ ।

जिबी राई समूहको सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका विभिन्न एकाइले अनुसन्धान अघि बढाइरहेका बेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि चासो देखाएको हो । विभागले दुवैजनाले ती बैंकबाट ऋण लिएको भए त्यसको विवरण र ऋण लिँदा पेस गरेका सम्पूर्ण कागजातको प्रमाणित प्रतिलिपि पनि मागेको छ ।

जिबी राईले देशका प्रमुख सहरमा सहकारी अभियान चलाएका थिए । ती सहकारीको रकम गैरकानुनी रूपमा उनी अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा लगानी गरेको विभागको आशंका छ । राईविरूद्ध पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरी ठगी गरेको अभियोगमा कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।

१९ जनाविरूद्ध मुद्दा चलेकामा ५ जना मात्र पक्राउ परेका छन् । राईसहित १४ जना फरार छन् । राष्ट्रिय रास्वपा सभापतिसमेत रहेका लामिछाने ग्यालेक्सी फोरके टेलिभिजनमा सेयर लगानीकर्ता तथा प्रबन्ध निर्देशक थिए ।