images

पाकिस्तानमा सरकार बनाउन ६ दलीय गठबन्धन, नवाजका भाइ प्रधानमन्त्रीको उम्मेदवार

काठमाडौं– पाकिस्तानमा पूर्वप्रधानमन्त्री नवाज शरीफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले छ दलीय गठबन्धनमा नयाँ सरकार बनाउने भएको छ ।

पीएमएल–एन र बिलावल भुट्टो नेतृत्वको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) मिलेर पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) नामको गठबन्धन बनाएका हुन् । पाकिस्तानमा सम्पन्न चुनावमा पूर्वप्रधानमन्त्री इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारहरूले सबैभन्दा धेरै सिट जितेका छन् । उनीहरूसँग दलीय हैसियत नभएकोले दोस्रो स्थानमा रहेको पीएमएल–एनको नेतृत्वमा गठबन्धन बनेको हो ।

गठबन्धनमा आबद्ध दलका नेताहरूले संयुक्त पत्रकार सम्मेलन गरेर चुनावमा एक अर्काविरुद्ध प्रतिस्पर्धा गरे पनि अब मिलेर आर्थिक सङ्कटलाई पार लगाउने बताएका छन् । पूर्वप्रधानमन्त्री नवाज शरीफले आफ्नो कान्छो भाइ शहबाज शरीफलाई नयाँ प्रधानमन्त्रीको उम्मेदवार बनाउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

अकूत सम्पत्ति कमाएको मुद्दामा सात महिना जेल बसेका शरीफलाई विशेष अदालतले सफाइ दिएको थियो । यसैबीच पूर्वप्रधानमन्त्री नवाज शरीफले पन्जाब प्रान्तको मुख्यमन्त्रीमा छोरी मरियमलाई उम्मेदवार बनाएका छन् । यता, पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले गठबन्धन सरकार बनाउने योजनालाई लिएर चेतावनी दिँदै यसले देशमा अस्थिरता थपिने बताएका छन् । तेहरिक–ए–इन्साफ पाकिस्तानका प्रवक्ता रउफ हसनले जनताले इमरान खानलाई ठुलो समर्थन गरेको तर यो जनादेश चोरिएको आरोप लगाएका हुन् ।