images

काठमाडौं–तराई द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सम्पन्न

काठमाडौं– राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत वित्तीय प्रगति भएको छ । मुआब्जा वितरण तथा जग्गा अधिग्रहण हुन बाँकी खोकना क्षेत्र र अदालतमा मुद्दा परेका ठेक्का प्रक्रियामा बाहेक कामको प्रगति सन्तोषजनक रहेको नेपाली सेनाले जनाएको छ ।

करिब ७१ किलोमिटर लम्बाइ रहेको सो आयोजना काठमाडौँमा चार दशमलव छ, ललितपुरमा ९, मकवानपुरमा ४९ दशमलव ७० र बारामा सात दशमलव छ किलोमिटर पर्दछ । आयोजनाको करिब ९५ प्रतिशत प्याकेज कार्यान्वयन तथा खरिद प्रक्रियामा गइसकेको छ । खरिद प्रक्रियामा गइसकेका काममा मुख्यगरी सुरुङमार्ग र पुल निर्माणको काम धमाधम भइरहेका छन्।

अहिले निर्माणाधीन तीन सुरुङमार्गको कुल लम्बाइ ६द शमलव ४१५ किलोमिटरमध्ये ४ दशमलव ३२५ किलोमिटर अर्थात् ६७ दशमलव ४३ प्रतिशत खन्ने काम सकिएको छ । यी तीन वटा सुरूङ आगामी वर्षको दसैँसम्म ‘ब्रेक थ्रू’ हुने बताइएको छ ।

लेनडाँडा सुरुङमार्ग आगामी वर्ष वैशाखभित्र, धेद्रे सुरुङमार्ग जेठभित्र र महादेवटार सुरुङमार्ग आगामी वर्ष असोज–कात्तिकभित्र ‘ब्रेक थ्रू’ गरिसक्ने गरी काम भइरहेको छ । एउटा सुरुङमार्गमा हरेक दिन औसत तीन मिटर हाराहारी खन्ने काम भइरहेको बताइएको छ ।