images

तनहुँमा बलेरो दुर्घटना हुँदा एकको मृत्यु,सात घाइते

काठमाडौं–पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२, नारीघाटमा भएको बोलेरो दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते छन्।

डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो अनियन्त्रित भई सडकछेउमा पल्टिएको प्रहरीले जनाएको छ। गाडीमा सवार चितवनको इच्छाकामना गाउँपालिका-६ का २२ वर्षीय सागर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले बताए। गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा चितवनको इच्छाकामना-५ का २२ वर्षीय डम्बरबहादुर गुरुङ, २४ वर्षीय कमल गुरुङ, ४६ वर्षीय रुद्रबहादुर चेपाङ, १८ वर्षीय जित गुरुङ, इच्छाकामना-६ बस्ने १९ वर्षीय रूपक गुरुङ, भरतपुर महानगरपालिका-२९ बस्ने टेस्टबहादुर गुरुङ र गोरखाको शहीद लखन गाउँपालिका-३ बस्ने ३० वर्षीय पूर्ण गुरुङ घाइते भएका छन्।

घाइतेमध्ये ६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। पूर्ण गुरुङ भने उपचारपछि घर फर्किएका छन्। गाडी चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ।