images

कांग्रेस महासमितिको बैठक आजदेखी सुरु हुँदै, देशभरबाट २ हजार १०५ जनाको सहभागीता रहने

काठमाडौं– प्रजातन्त्रको अवसर पारेर आजदेखि नेपाली कांग्रेस महासमिति बैठक सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा महासमितिको भेला हुन लागेको हो ।

महासमितिका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको पार्टीले जानकारी दिएको हो । कांग्रेस प्रचार–प्रसार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार पत्रकार सम्मेलन गर्दै महासमिति बैठकको तयारी पुरा भएको जानकारी दिए । फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमितिको मुख्य कार्य पार्टीको नीति निर्माण गर्नुरहेको विश्वकर्माले बताए ।

उनका अनुसार महासमिति बैठकमा फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदित नीति, सांगठनिक, समसामयिक राजनीतिक, नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा परीक्षण प्रतिवेदन पेस हुनेछन् । ती प्रतिवेदनहरू समूहगत रूपमा छलफल हुनेछ तराई, मधेस, हिमाल, पहाड सबै क्षेत्रबाट प्रतिनिधित्व रहने गरी समूह विभाजन गरिनेछ ।

नीति अधिवेशनको रूपमा सम्पन्न हुने यो महासमितिको बैठकमा प्रस्तुत हुने यी प्रतिवेदनले वर्तमान राजनीतिक परिवेशलाई उचित सम्बोधन गर्दै कांग्रेसले जनताको अवस्था परिवर्तनका लागि विश्वासिलो र भरपर्दो गरी काम गर्छ भन्ने विश्वास दिलाउने उनको भनाइ छ । महासमिति बैठकमा दुई हजार एक सय पाँचजना सहभागी हुने भएका छन् ।

महासमिति बैठकका लागि महामन्त्री गगन थापाले तयार गरेको सांगठनिक प्रतिवेदनमा अझै सहमति जुट्न सकेको छैन ।

महान्त्री थापाले तयार गरेको प्रतिवेदनमा भविष्यमा हुने आवधिक निर्वाचनअघि नै गठबन्धन नगर्ने संकल्प गर्नु पर्ने उल्लेख छ । उक्त प्रस्तावलाई हटाउनु पर्ने कांग्रेसको संस्थापन पक्षको माग छ ।