images

मध्यपश्चिम र सूदुरपश्चिम विश्वविद्यालयमा उपकुलपतिको नियुक्ती प्रक्रिया स्थगित

काठमाडौं– मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अन्तिम समयमा स्थगित भएको छ ।

विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको आइतबार बसेको बैठकले दुबै विश्वविद्यालयको उपकुलपतिका लागि जारी गरिएको दरखास्तसहित सबै प्रक्रिया रोक्ने निर्णय गरेको हो ।समितिले गत २६ माघमा सूचना प्रकाशन गरेर उपकुलपतिमा दरखास्त आह्वान गरेको थियो ।

दरखास्त दिने अन्तिम दिन मध्यान्न १२ बजेसम्म स्वतस्फूर्त रुपमा दरखास्त लिए पनि त्यसपछि सिफारिस समितिको बैठक बसेर प्रक्रिया स्थगित गरेको हो । कुनै खास व्यक्तिले दरखास्त हालेपछि प्रक्रिया नै स्थगित गरिएको बुझिएको छ । पछिल्लो पटक दरखास्त हाल्ने उम्मेदवारको अरुको भन्दा बढी अंक हुने र स्वत नियुक्ती पाउने अवस्था रहेको स्रोतले जनाएको छ । तथापी सिफारिस समितिले भने फरक फरक विश्वविद्यालयको हकमा फरक फरक खालको मापदण्ड तय गरिएको भन्दै विरोध भएपछि तत्काललाई दरखास्त प्रक्रिया स्थगित गरेको जनाएको छ ।

यस विषयमा कुरा गर्न खोज्दा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष तथा सिफारिस समितिका संयोजक प्राध्यापक डाक्टर देवराज अधिकारीसँग कुरा गर्न खोज्दा उनले लाइभ कुरा नगर्ने बताए । संसदीय समितिदेखि चौतर्फी रुपमा मापदण्डलाई लिएर कुरा उठेपछि प्रक्रिया स्थिगित गरेको उनको दाबी छ । तर, आफ्नो स्वार्थ अनुकुलका मानिसलाई नियुक्ति दिलाउन नसक्ने अवस्था आएपछि प्रक्रिया नै रोकिएको स्रोतको दाबी छ ।